गैरआवासीय नेपाली संघको केन्द्रिय महिला संयोजकमा यूकेकी पत्रकार संगीता मरहट्टा द्धारा उम्मेदवारी घोषणा ! महिला नेतृत्वका लागि एक शशक्त अनुभवी पात्र !!

nrn नेपाल समाचार विश्व समाचार

राजु थापा, एमखवर क्यानडा ।

बिश्वको करिव ८१ देशमा फैलिएको गैरआवासीय नेपाली संघलाई आजको अबस्था सम्म ल्याउन महिलाहरुको पनि अत्यन्तै ठुलो योगदान रहेको पाईन्छ । त्यस योगदानमा आफ्नो बिशेष भूमिका निर्वाह गर्ने बेलायत निवासी संचारकर्मि तथा व्यवसायी संगीता मरहट्टाले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा बिबिसी नेपाली सेवाकि पुर्व पत्रकार मरहट्टाले आफ्ना भावी योजना सहित औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेकी हुन् ।

संघमा अझैपनि महिला र दोस्रो पुस्ताको संलग्नता तुलनात्मक हिसाबले कमी नैं देखिएको छ । संघमा महिलाहरुको सशक्त उपस्थितिलाई बढावा दिंदै नेपाल तथा डायस्पोरामा रहेका महिलाहरुको ज्ञान, सीप र अनुभव समेतलाई समेटेर महिलाहरुको आर्थिक स्वाबलम्बन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनए महिला फोरममार्फत विविध योजनाहरु समेटेर आफुले उम्मेदवारी दिन लागेको बताएकी छिन् ।  विगत एक दशक लामो एनआरएनएसंगको संलग्नताको अनुभवका आधारमा महिला संयोजकको भुमिकालाई कुशलताका साथ निर्वाह गर्न सक्नेमा विश्वस्त हुदै भविष्यमा महिलाहरूसंग रहेको सीप र क्षमतालाई अझै बढी उजागर गर्ने र उनीहरुलाई उद्यमशील बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने कुरामा सहयोग गर्ने र त्यसमा लागि पर्ने बताएकि छिन् ।

बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् ।