नेपालका पर्यटनमन्त्री भट्टराई क्यानडा भ्रमणमा, नेपाल भ्रमण गर्न स्वदेशी तथा विदेशीलाई निम्तो, नेपालका एयरलायन्स घाटामा जांदा मन शान्त भएन, भट्टराई

nrn क्यानडा विशेष नेपाल समाचार

एमखवर सम्वाददाता, टोरोन्टो

२९ सेप्टेम्वर, २०१९

माननिय नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई क्यानडा भ्रमणमा हुनुहुन्छ । एनआरएनए क्यानडाका मिडिया कोअर्डिनेटर बद्री तिमल्सिनाका अनुसार नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मन्त्री भट्टराईले स्वदेशी तथा विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न निम्तो दिनुभएको छ ।

अन्तराष्ट्रिय नागरिक उड्यन संघ, आइकाओको माहासभामा सहभागी हुन क्यानडाको मोन्ट्रियल आउनु भएका भट्टराईले शुक्रबार एनआरएनए क्यानडाले गरेको कार्यक्रममा टोरोन्टोका सांसद तथा अन्य विदेशी नागरिकहरुलाई सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल एकपटक घुम्न आग्रह गर्नुभयो । अब जो कोही छुट्टी मनाउन बाहिर जानु भन्दा नेपाल नै गएर प्राकृतिक आनन्द लिन आव्हान गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न क्यानडाबासी नेपाली समुदाय जुटेर लाग्नु पर्ने बताउनुभयो । वाइडबडी एयरलायन्स लगायत केही नयां एयरलायन्सहरु अहिले घाटामा गइरहेको अवस्थामा आफू विदेश घुम्दा पनि मन शान्त नभएको उहांको कथन थियो । उहांले भन्नु भयो , “तर यसका लागि नेपाल सरकारले समाधानको उपाय निकाल्न लागि परिरहेको छ । “

साथै उहांले प्रवासमा रहेका नेपालीहरुका नागरिकता विषयमा सरकारले आवश्यक गृहकार्य गरिरहेकोले अब छोरा नाती सम्मले पनि नेपाली नागरिकता पाउन सक्ने व्यवस्था गरिने बताउनुभयो यस विषयमा केही कमिकमजोरि रहेछन् भने पनि विधेयक परिमार्जन गर्न सकिने उहांको स्पष्टोक्ति थियो

उहाँले अर्कै एक प्रसंगमा “तपाइहरू विदेशमा बसेर नेपाली मूलको राजनीतिमा लागेर किन नेपाली समाजलाई विभक्त गर्नु हुन्छ। राजनीति मै जाने मन भए विदेशी मूलकै राजनीति लिवरल, कन्जरभेटिभ, एनडिपि वा ग्रिन पार्टिमा समाहित रहेर नेपाललाई समेत सहयोग पुर्‍याउन योगदान दिनुस्। हैन नेपालकै राजनीति गर्ने हो र मन्त्री बन्ने  भए झोला कुम्लो बोकी नेपाल फर्कनुस् । आउनुस् उतै राजनीति गरौँ”

टोरोन्टोको नेपाली रेष्टुरेन्ट प्याटियो वन्क्वेट हलमा आयोजना गरिएको कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० मार्फत नेपाल क्यानडाका पर्यटक विच सुमधुर सम्बन्ध स्थापना गराउन आफू लागि परेको बताउनु भयो ।

यस्तै एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, उपाध्यक्ष उज्वल थापा, पूर्व महासचिव सुमन लम्साल लगायतले नेपालका सुन सुकै ठाउं पनि घुम्न योग्य रहेकाले त्यस्ता ठाउंहरुको प्रचार प्रसार गरि पर्यटकको शान्ती सुरक्षा प्रति पनि ध्यान दिन आग्रह गरेका थिए । एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले संचालन गरेको कार्यक्रममा टोरोन्टो क्षेत्रका सांसद नाथलियन लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मादलको तालबाट  टोरोन्टोमा स्थापित भएको सानुराजा नेतृत्वको हिमालयन भाइव्सको सांगितिक प्रस्तुतीले कार्यक्रम थप रोमाञ्चक बनाएको थियो । यसअघि नेपाली दूतावासले राजधानी अटोवा र टोरोन्टोमा गरेका कार्यक्रमहरुमा पनि मन्त्री भट्टराईले नेपाल भ्रमणलाई नै विशेष जोड दिनुभएको थियो । एकसाता लामो भ्रमणपछि मन्त्री भट्टराई आज  आइतवार स्वदेश फर्कदै हुनुहुन्छ ।

फाेटाेः नेपाली दुतावास अटावा, एनआरएनए क्यानडा