फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ ।
यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले बताएको छ । फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भण्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाइ हुने गरेको छ ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले जनवरीदेखि अस्ट्राजेनिकाको खोप दिन शुरु गरिने बताउनुभयो । अस्ट्राजेनिकाको खोप आम जनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै अस्ट्राजेनिकाको खोप चलाउन थालिएको हो । बेलायत सरकारको स्वास्थ्य नियामक निकाय (एमएचआरए) ले अक्सफोर्ड र अस्ट्राजेनिकाले विकास गरेको खोप प्रयोगमा ल्याउन सकिने भन्दै अनुमति दिएको थियो ।
एक जना स्वास्थ्य विभागका प्रवक्ताले अस्ट्राजेनिकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्यांक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताएका छन् । आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शतप्रतिशत सुरक्षा प्रदान गर्ने बताउनुभएको थियो ।
उहाँले आफूहरुले विकास गरेको खोपले फाइजर र मोडर्नाको झैं ९० प्रतिशतकै हाराहारीमा काम गर्ने बताउनुभएको छ । यसअघि गरिएका परीक्षणमा खोपले ७० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको थियो । तर पछिल्लो पटकको अध्ययनले अस्ट्राजेनिकाको खोप पनि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।
भारतको विश्वविख्यात खोप निर्माता सीरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको अक्सफर्डको खोप हालै अमेरिकामा अनुमतिप्राप्त खोपहरूभन्दा निकै धेरै सस्तो मात्र होइन नेपालजस्ता देशका निम्ति आपूर्ति र भण्डारण गर्न सकिने प्रकृतिको पनि छ।
अमेरिकी खोप २०-३० डलर पर्ने तुलनामा उक्त खोपको एक मात्रा तीन डलरजतिमा आउने अपेक्षा छ। साथै सामान्य चिसो तापक्रममा पनि यो भण्डार गर्न सकिन्छ। अर्थात् नेपालले साविकका अरू रोगका खोपहरू जसरी राख्ने व्यवस्था मिलाइरहेको छ त्यसैबाट काम लिन सकिन्छ।
त्यसैले उक्त खोप सकेसम्म चाँडो देश भित्र्याउने प्रयास भइरहेको कोभिड-१९ खोपविज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेतीले बीबीसीलाई बताएका छन्।