अख्तियारमै रहेको भए यही छुद्रता भित्र हुन्थे भन्दै चार वर्षपछि लोकमानले मुख खोले : को-को लागेर हटाए !

बिचार

सर्वप्रथम म सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अभिवादन गर्न चाहान्छु । नव वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्न चाहान्छु ।लामो समयदेखि मेरो फेसवुक पेज वाध्यतावश सञ्चालनमा थिएन या भनु म मौन थिए । यसका भित्र धेरै कारणहरु लुकेका छन् । त्यस संवादहिनतालाई अन्त्य गर्दै यहाँहरुसंग पुनः जोडिने पवित्र भावनाका साथ यसलाई आजै देखि पुनः सुचारू गरेको छु ।

भुपालमान सिंह प्रज्ञा प्रतिष्ठान पनि धेरै बर्षदेखि सुचारु रुपले संचालन भई नै रहेको थियो तर प्रचारमुखी मात्र थिएन । यो आफ्नो कर्तव्यबाट विमुख भएको थिएन र हुँदैन पनि ।यस अन्तरालमा प्राकृतिक प्रकोप वाढी, पहिरो, भूकम्प, आँधिबाट पिडितलाई, वृद्धाश्रम तथा अनाथ आश्रममा जीवन धान्न आवश्यक गाँस, वाँस, र कपास लगायतका सामाग्रीहरुका लागि र असहाय विद्यार्थिहरुको शिक्षाका लागि आफ्नो सामर्थ्यानुसार सहयोग प्रदान गर्दै आएको व्यहोरा पनि यहाँहरु समक्ष निवेदन गर्न चाहान्छु ।

सर्वप्रथम नेपाल कै सबैभन्दा ठूलो धनराशी रु एक करोडको अक्षयकोषको स्थापना पूज्य बुवाज्यूद्वारा २०५२ सालमा भए पश्चात विभिन्न पुरस्कार लगायत सेवामुखी कार्यमा करिव डेढ करोड राशी प्रदान गरिसकेको व्यहोरा समेत यहाँ राख्न चाहान्छु ।यो प्रतिष्ठान प्रचारमुखी नभई परोपकारी र सेवामुखी भई आफ्नो कर्तव्य निर्वाह गर्न सदैव प्रयासरत थियो, छ र रहिरहने छ ।

बुवाज्यूकै ईच्छानुसार यस प्रतिष्ठानलाई पुरस्कार भन्दा पनि महत्वपूर्ण परोपकार हो भन्ने भावनालाई शिरमा राखी यसलाई वृहतस्तरमा परोपकारी र सेवामुखी बनाउने साथै प्रतिष्ठान अझ जीवन्त र वृहत बनाउने उदेश्यले अक्षयकोषको राशी वृद्धि गर्दै जाने प्रतिवद्धता पनि यहाँहरु सामु व्यक्त गर्न चाहान्छु ।अब अर्को पाटो, मलाई अख्तियारबाट बहिर्गमन गर्न भूमिका खेल्नुहुने न्यायसेवाका उच्चतम केही महाननुभावहरु, राजनितिक नेतृत्व लगायत अन्य व्यक्तिहरु जसले महाभियोग प्रस्ताव ल्याउन आफ्नो द्वेध चरित्र लुकाउन अदालतको निर्णय नआएसम्म मलाई निलम्बित राख्नु भयो, पत्र पत्रिकाका उच्च घरानाका केही महानुभावहरु, स्वघोषित केही नागरिक अभियन्ताहरु, व्यापार व्यवसायलाई नैतिक अनैतिक रुपमा आफ्नो गोजीमा राख्ने निजी क्षेत्रका केही व्यक्तिहरु, केही कर्मचारीतन्त्रहरु तथा प्रतक्ष्य अप्रतक्ष्यरुपमा संलग्न केही महानुभावहरुलाई साधुवाद व्यक्त नगरी रहन सक्तिन ।

मलाई केही पत्रपत्रिका र अन्य केही व्यक्तिहरुले पलायन भएको भन्ने समेत प्रचार गरेको देख्दापनि कुनै प्रतिक्रिया बिना उचित समयको प्रतिक्षामा मौन रहेको थिए । अरुले भन्ने दृष्टिको खोज गर्दा दृष्टिदोष मात्र प्राप्त हुन्छ । त्यसमा मेरो कुनै सरोकार पनि छैन् । तथापि अरुको वारेमा चियोचासो गर्नु भन्दा आफ्नो अन्तर यात्रामा प्रवेश गर्नु श्रेयकर हुने देखेर वहाँहरुलाई पनि सोहि गर्न सुझाव दिदैछु । परमात्माले कहिल्यै अहित गर्दैन । शायद अख्तियारमै रहेको भए यही छुद्रता भित्र नै रमेर बसेको हुने थिएँ । तसर्थ उहाँहरु प्रति आभारी छु ।

विगत करिव दश बर्ष देखि म ओशोको प्रवचनको नियमित श्रोता हुँ ।अख्तियारबाट बहिर्गमन पश्चातको चार बर्ष भने मैले जीवन कसरी दुस्ख बाट मुक्त हुन सकिन्छ ? र मेरो जीवनको ध्येय के हो? जान्नका लागि ओशोको वाणीबाट गीतारुपी दर्शन मात्रै नियमित श्रवण र मनन गरिरहेको छु । यसै क्रममा महासागररुपी गीता ओशोको व्याख्यान मेरो अनुभवमा केही सारसंक्षेपमा लेख्ने प्रयास गरेको छु । जसलाई निकट भविष्यमा नियमित रुपले यहि फेसबुक पेज मार्फत क्रमशस् यहाँहरु समक्ष पस्किने छु साथै पुस्तकको रुपमा समेत प्रकाशन गर्ने छु ।

आज विश्वव्यापी महामारीको रुपमा विश्वलाई नै स्तव्ध बनाउदै कोरोना भाईरस (कोभिड(१९)बाट आक्रान्त हुने पिडादायी परिस्थिती श्रृजना हुन पुगेको छ । जसबाट नेपाल र नेपालीहरु पनि प्रताडित र अछुतो नभएको स्थिति छ । विपदको वेला सानो सहयोगले पनि ठूलो भूमिका खेल्न सक्छ ।

यस परिस्थितिमा सबैभन्दा अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका खेलिरहेका स्वास्थ्यकर्मीहरु संग आफ्नो सुरक्षाको लागि अत्यावश्यक सामाग्रीको कमि दृष्टिगत गरि उनिहरु सुरक्षित भए मात्र अन्य सबै सुरक्षित हुने हुँदा यहि वैशाख ७ गते प्रतिष्ठानको मेरो अध्यक्ष्यतामा बसेको बैठकले करिव १२ लाखको सहयोग प्रदान गर्ने निर्णय गरको थियो । जस मध्ये सात वटै प्रदेशमा ३०० थान पि.पि.ई.पूर्ण शारिरिक सेट, २५० थान एन(९५ मास्क, ५० थान डिजीटल थर्मा्मिटर र २० थान ईन्फ्रारेड गन वितरण गर्ने निर्णय अनुसार सातै प्रदेशमा सोही वमोजिम हस्तान्तरण गरि सकिएको व्यहोरा अवगत गराउदछु ।

यस विपदको घडिमा सरकारद्वारा सुरक्षाको ख्याल गरेर लगाएको लकडाउनले दैनिक ज्यालादारीमा जीवन गुजार्न वाध्य दाजुभाई(दिदिबहिनीहरुलाई पर्न गएको मर्का र खाद्यान्न अभाव दृष्टिगत गर्दै प्रतिष्ठानको आज बसेको बैठकले करिव १००० विपन्न वा अत्यावश्यक परिवारलाई चामल, दाल, नून, तेल गरि करिव रु १५ लाख वरावरको खाद्य सामाग्री वितरण गर्ने निर्णय गरेको छ । लकडाउनको नियम पालना गर्दै सामाजिक दुरी कायम राख्दै उक्त खाद्यान्न वितरण गर्ने उपयुक्त निकाय र उपयुक्त व्यक्तिको सक्दो छिटो खोजी गरी वितरण गर्ने यहाँहरु समक्ष राख्न चाहान्छु ।

(लेखक लोकमानसिंह कार्की नेपालको सरकारको पूर्वमुख्य सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वप्रमुख आयुक्त हुन् ।)