अब नेपालको क्षेत्रफल– १४७४९१ वर्गकिलोमिटर

नेपाल समाचार

काठमाडौं :  सोमबार मन्त्रिपरिषद् बैठकले पहिलो पटक नेपालको नक्सालाई पूर्णता दिएको छ– भारतले अतिक्रमण गरेको भूमिलाई पनि नेपाली नक्सामा समेटेर । लिम्पियाधुरादेखि लिपुलेकको अतिक्रमित जग्गा नेपालले अब आफ्नो नक्सामा समावेश गर्नेछ ।

योसँगै नेपालको संविधान, निशाना छापमा भएको तस्वीर र हामीले प्रयोग गर्दै आएका सबै नेपालका नक्साहरुमा परिवर्तन आउने भएको छ । नेपालको नक्सामा परिवर्तन आउनु भनेको हाम्रो क्षेत्रफलमा पनि परिवर्तन आउनु हो ।

यसअघि हामीले नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर भनेर पढ्दै आएका थियौँ ।

अब यसअघि नसमेटिएको भूमि पनि समावेश भएपछि नेपालको नयाँ क्षेत्रफल पनि कायम भएको छ । अब नेपालको क्षेत्रफल १ लाख ४७ हजार ४ सय ९१ वर्गकिमी हुनेछ ।