अमेरिका सपनाः ७५ लाख डुबाएर १७ महिना जेल

क्यानडा विशेष नेपाल समाचार

शेयर गर्नु होस ।

पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ।छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ।राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुप्रै नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ।

तर, अवैध बाटो हुँदै विदेश पु¥याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक सरकारसँग छैन।कसरी विदेशी भूमिमा नेपाली नागरिक ठगिएका छन्? कुन बाटो हुँदै कसरी लगिन्छ भन्ने विषयमा आजको नयाँ पत्रिकामा नवराज मैनालीको रिपोर्ट छापिएको छ।

अमेरिका सपनाः ७५ लाख डुबाएर १७ महिना जेल

अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ। मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन्।

उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो। पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो । भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट सडकमार्ग हुँदै उनलाई अमेरिका लगिएको हो।

ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै उनलाई अमेरिका लगिएको थियो । मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे। जेलबाट छुटेपछि नेपाल ‘डिपोर्ट’ गरिएको थियो ।

नेपाल फर्किएपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । उनलाई त्यसरी अमेरिका पठाउने गिरोहका सदस्य जिसीलाई ब्युरोले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ।

१५ युवकलाई लिबिया पु-याएर बन्धक

वैदेशिक रोजगारीका लागि इटाली लैजाने भन्दै लिबिया पु(याएर १५ युवालाई अलपत्र बनाउने गिरोहका दुईजना पनि पक्राउ परेका छन् । मावन बेचबिखन नियन्त्रण ब्युरोले राहुल गहतराज, तीर्थबहादुर विश्वकर्माजस्ता उपनाम भएका राहुल थापा र कमल भन्ने लोकमान राईलाई प्रहरीले पक्राउ गरेको हो। सो समूहले प्रतिव्यक्ति पाँचदेखि सात लाख रुपैयाँ असुलेर उनीहरूलाई नयाँदिल्ली, दुबई हुँदै ट्युनिसियाबाट सिरिया पठाइएको थियो।

त्यहाँबाट लिबिया पु-याएपछि उनीहरूको पासपोर्ट तथा नगदसमेत खोसिएको थियो। पछि त्यहाँ खटिएको नेपाली शान्ति सैनिक र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा उद्धार गरिएको थियो ।

पक्राउ परेकामध्ये लोकमान विगतमा पनि मानव तस्करी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन्। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले २४ पुस ०७४ मा पक्राउ गरेको थियो।

टर्कीमा मानव तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। अदालतबाट १० लाख रुपैयाँ धरौटीमा छुटेपछि उनले यही धन्दालाई निरन्तरता दिएका थिए।

‘भिजिट भिसामा विमानस्थलबाट मानव तस्करी गर्ने गिरोहका उनी नाइके भएको बुझिएको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने।

काजकस्तान भन्दै कुर्दिस्तान
मानव तस्करीमा संलग्न गिरोहले काजकस्तान लैजाने भन्दै नेपालीहरूलाई झुक्याएर इरानको सहर कुर्दिस्तान पु-याएरसमेत अलपत्र बनाएका थिए। तीन युवकलाई त्यसरी कुर्दिस्तान पु-याइएको छ। त्यसमा संलग्न अमरबहादुर बगाले र मेनुका श्रेष्ठलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले पक्राउ गरी कारबाही अघि बढाएको छ।

आकर्षक जागिरको प्रलोभनमा लाखौँ असुलेर उनीहरूलाई कुर्दिस्तान पु(याइएको हो । इराक, लिबिया, सिरियाजस्ता द्वन्द्वग्रस्त देशहरूमा समेत मानव तस्करी बढेको प्रहरीले जनाएको छ ।

क्यानडा पठाउने भन्दै दिल्ली लगेर मिर्गौला निकाल्ने प्रयास
क्यानडा लैजाने भन्दै मानव तस्करीमा संलग्न एक गिरोहले एक युवक र उनका बुबा तथा मामालाई दिल्लीमा पु-याएर उनीहरूको पैसा लुटी मिर्गौलासमेत निकाल्ने प्रयास गरेको छ।

चार महिनापछि प्रहरीले सो गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ । नाम गोप्य राखिएका ती युवालाई गत ५ फेब्रुअरीमा भारतको नयाँदिल्ली लगिएको थियो। दिल्लीको होटेलमा राखेपछि क्यानडा जान २२ हजार अमेरिकी डलर देखाएपछि तुरुन्त क्यानडाको ‘इलेक्ट्रोनिन्स ट्राभल अथोराइजेसन’ ल्याउन सकिने भनेर ब्ल्याकमेल गरियो ।

भिसा आइसकेको भनेर उनलाई भ्रममा पारेर पैसा मगाउन लगाइएको थियो।

भर्खर प्लस टू पास गरेका ती युवक क्यानडाको सपनामा मोहित भइसकेका थिए। त्यसकारण जसरी पनि पैसा खोज्न बुबासँग आग्रह गरे । छोरा क्यानडामा सेटल हुन्छ भन्ने सपनामा बुबाले आफन्तसँग ऋण गरेर २२ हजार डलरबराबरको पैसा जम्मा गरेका थिए। युवकका बाबु र मामा करिब २४ लाख पैसा बोकेर १२ फेब्रुअरीमा नयाँदिल्लीस्थित एयरपोर्टमा ओर्लिए ।

मानव बेचबिखन अनुसन्धान ब्युरो एसपी अनुपमशमशेर राणा भन्छन् ‘ वैदेशिक रोजगारीको आश्वासनमा खाडीदेखि अमेरिकी देशहरूसम्म तस्करी रोकिएको छैन । तस्करीमा परेकाहरूले उजुरी नदिने प्रवृत्ति छ। ’

सोही दिन बेलुका युवकको क्यानडाको फ्लाइट भनिएको थियो । गिरोहका व्यक्ति नै उनका बाबु र मामालाई लिन एयरपोर्ट गएका थिए । ट्याक्सीमा लिएर फर्किंदा उनीहरूले पैसा देखाउन भने । तर, शंका लागेर बाटोमा पैसा देखाएनन् । होटेलमा लगेर सुरुमा विभिन्न कुरा खान कर गरेको, तर आफूहरूले नमानेको उनीहरूले बताएका छन् । पैसा देखाएपछि गिरोहका सदस्य योगेश सापकोटाले युवकलाई विमानस्थल लिएर गएका थिए । बाबु र मामालाई होटेलमै राखिएको थियो।

युवक विमानस्थलमा कुरिरहे। घन्टौँ कुरेपछि आफ्नो टिकट नै नक्कली भएको थाहा पाएपछि बिहान करिब चार बजे उनी बुबाहरू भएको होटेलमा फर्किए। जहाँ बुबा र मामालाई बेहोस अवस्थामा भेटे । उनीहरूलाई अस्पताल लिएर गए । त्यतिवेलासम्म उनीहरूको सबै पैसा लिएर गिरोहका व्यक्तिहरू फरार भइसकेका थिए। त्यसपछि मात्र उनीहरूले आफूहरू आपराधिक समूहको फन्दामा परेको थाहा पाए।

बेहोस बनाएर आफूहरूको मिर्गौलासमेत निकाल्ने प्रयास भएको उनीहरूले प्रहरीसँग बताएका छन् । गिरोहका सदस्य सापकोटा पक्राउ परेका छन् भने अन्य फरार रहेको प्रहरीले जनाएको छ । सो गिरोहमा केही भारतीयहरूसमेत रहेको उनीहरूमाथि अनुसन्धान जारी रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० अनुपमशमशेर राणाले बताए । क्यानडाको पिआर नै मिलाइदिने भनेर उनलाई विश्वासमा पारी त्यसरी लुटिएको थियो । क्यानडमा भएका एक व्यक्तिसँग बारम्बार फोनमा कुरा गराएर उनलाई विश्वासमा पारेको अनुसन्धानमा खुलेको छ।