अमेरिकी राजदूतदेखि नेकपा र कांग्रेस सांसद ‘रूष्ट’

नेपाल समाचार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

वरिष्ठ नेता नेपालले अन्तराष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित हुने भएकाले संचालन नगर्न पनि राजदुत बेरीको ध्यानाकर्षण गराए ।

बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पारे ।

वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नेपर्ने पनि उल्लेख गरे ।

सत्तारुढ नेकपाकै अर्का नेता भिम रावलले कूटनीतिक मर्यादा विपरित गएर अमेरिकी राजदुत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिए ।

उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी पनि गरे ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिविना अमेरिकी राजदुत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पारे ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सरकारसँग अनुमति नलिई राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अधिकार नभएको स्पष्ट पारे ।

अमेरिकी राजदुत बेरीले आगामी सोमबारबाट ‘राजदुतसँग गफगाफ’ संवाद कार्यक्रम चलाउने घोषणा गरेपनि उनी विवादमा तानिएका हुन् ।