अस्ट्रेलियाका नेपालीलाई उद्दार गरिएन, रित्तै फर्कियो नेपाली विमान !

NRNA नेपाल समाचार

मदन बस्नेत, टोरोन्टो ! 

लकडाउनका कारण नेपालमा अड्किएका अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिकलाई लिएर गएको नेपाल वायुसेवा निगमको जहाज अस्ट्रेलियाबाट रित्तै फर्किए पछी विदेशमा रहेका नेपाली  नागरिकलाई फिर्ता नल्याउने सरकारी नीतिको पर्दाफास भएको छ।

उनीहरूले आफू नेपाल फर्कंदा लाग्ने भाडा बेहोर्ने, नेपाल पुगेर नियमअनुसार क्‍वारेन्टाइनमा बस्ने तथा क्‍वारेन्टाइनका लागि लाग्ने शुल्कसमेत तिर्ने प्रतिबद्धता जनाउँदासमेत आफूहरूको मागको सुनुवाइ नभएको भन्दै गुनासो गरेका छन् ।

नेपाली विमानमा फर्कन पाऊँ भन्दै हाल अस्ट्रेलियामा रहेका ३ सय भन्दा बढी नेपालीले नेपाली दूतावासमा औपचारिक अनुरोध गरेका थिए।

 नेपालीले उद्धार गरिदिन गरेको आग्रहलाई अस्वीकार गर्दै  सिड्नीबाट नेपाली ध्वजावाहक रित्तै फर्किए पछी बर्तमान सरकारको नीति नै विदेशमा रहेका नेपाली नागरिकलाई फिर्ता नल्याउने रहेको प्रष्ट हुन्छ।

अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई उद्धार गरेर आफ्नै देश फर्काएको यो दोश्रो पटक हो र त्यो दुबै उद्दार कार्यमा नेपाल एयरलाइन्सको विमान अस्ट्रेलिया उडेको थियो।

 त्यसरी अस्ट्रेलिया पुगेको आफ्नै राष्ट्रिय ध्वजा वाहक बिमानलाई रित्तो फर्काउने नेपाल सरकारको रवैयालाई लिएर आप्रवासी नेपालीहरुले आपत्ति जनाएका छन्।

अस्ट्रेलिया स्थित नेपाली दूतावासले भने नेपाल सरकारले अनुमति नदिएका कारण आफूहरूले चाहेर पनि सहयोग गर्न नसकेको जनाएको छ। यद्यपि, दूतावासले नै आवश्यक पहल नगरेको पीडितहरूको गुनासो छ।