अस्ट्रेलियाका वैज्ञानिकहरुले पत्ता लगाए कोरोनाबारे नयाँ तथ्य

स्वास्थ्य

शेयर गर्नु होस ।

अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले हालै गरेको अनुसन्धानले कोरोना भाइरस २८ दिनसम्म जीवित रहन र संक्रमण गर्न सक्ने नयाँ तथ्य सार्वजनिक गरेको छ ।

कोभिड–१९ गराउने भाइरस विभिन्न बस्तु तथा सतहमा झण्डै एक महिना सम्म बाँच्न र संक्रमण गर्न सक्ने अनुसन्धानबाट फेला परेको हो । भाइरस बैंक नोट, फोनको स्क्रिन तथा स्टेनलेस स्टिलमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य फेला पारेको हो ।

यसअघि गरिएको अनुसन्धानले नोट तथा ग्लासमा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्न सक्ने भनिएको थियो । यसैगरी प्लास्टिक र स्टेनलेस स्टिलमा ६ दिनसम्म मात्र बाँच्न सक्ने भनिएको थियो । तर नयाँ अनुसन्धानले थप सचेत र सतर्क रहनुपर्ने देखाएको छ ।

कोभिड नाम दिइएको यो भाइरस सोचेभन्दा निकै लामो समयसम्म जीवित रहने तथ्य फेला परेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

मुख्य रुपमा कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा अर्को व्यक्तिमा सर्ने गर्दछ । साथै हावामा तैरिएका संक्रमित व्यक्तिका छिटाबाट पनि भाइरस संक्रमण हुन सक्ने तथ्य फेला परेको छ ।

यसैगरी संक्रमित व्यक्तिले छोएको प्लास्टिक तथा फलामका बस्तु अर्को व्यक्तिले छुँदा पनि संक्रमण फैलिने सम्भावना रहेको बताइएको छ ।