आज कुमार षष्ठी तथा सिठी नख:

Events नेपाल समाचार

मदन बस्नेत, टाेराेन्टाे सम्वाददाता । २८ मे २०२०। नेपाली तिथि र मिति अनुसार आज कुमार षष्ठी अर्थात भगवान कुमारको जन्मदिन हो। अनि, नेवार समुदायले मनाउने पर्यावरण मैत्री पर्व “सिठी नख” पनि हो।

पौराणिक आख्यान अनुसार आजकै दिन भगवान शंकरका जेष्ठ सुपुत्र कुमार कार्तिकेयको जन्म भएको हो। उनले बाल्यकाल मै देव सेनाको नेतृत्व गरी तारकासुरको बध गरेर सम्पूर्ण लोकलाई बचाएका थिए भन्ने प्रसंग पुराणहरुमा वर्णित छ। 

त्यसैले देवताहरुको सेनापतीका रुपमा पूजित कुमारलाई नेवार समुदायले आफ्नो घर,मन्दिर,टोल आदिको रक्षाका लागि कुमार स्थापना गर्ने गरेको पाईन्छ। 

आफ्नो बासस्थानको रक्षार्थ कुमारको बाहन मयूरको आकृतिलाई घरको झ्याल, ढोकामा राख्ने चलन नेवार समुदायमा यद्यपि कायमै छ। त्यसो गर्दा घरमा सुख समृद्धि बढ्ने र दुष्ट आत्माहरुले गृह प्रवेश गर्न नसक्ने किंवदन्ती रहेको छ।

वास्तवमा आजको दिन नेवारहरुको देवालीपूजा गरिने अन्तिम दिन पनि हो। अक्षय तृतीयाबाट गर्न थालिने देवाली पूजाको आजको दिन अन्तिम हो। त्यसैले आज घरको मूल ढोका अगाडि छ पत्रे कमलको आकृती बनाएर षष्ठ मुख कुमारलाई ६ थरीका विभिन्न दालहरुबाट बनेको विशेष परिकारको “व:” अर्थात् “बारा” चढाईन्छ। 

बार र व: को संगसगै चिउरा, स्याबजी, चटामरी, बोडी, कालो भटमास, लसुन, अदुवा, मछा, मासु, अण्डा, रक्सी, फलफूल लगायतका विभिन्न ब्यञ्जन बनाएर भगवान कुमारलाई चढाउने र प्रसाद स्वरुप खाने चलन छ।

यो पर्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको जलाशयको सरसफाइ हो। आज कै दिन नेवार समुदायका मानिसहरुले आ-आफ्नो गाउँ, वस्ती, टोल, छिमेकमा रहेका खोला, कुवा, इनार, धारा आदिको सरसफाइ गर्ने चलन छ। 

बर्षायामको सुरुवात संगसंगै पानीको मुहानहरु फोहर हुने हुनाले त्यसको उचित ब्यबस्थापन र सरसफाइ गर्ने सिठी पर्वको परम्परागत ब्यबस्थाले समुदाय स्तरमा पिउने पानीको समस्या र पानी कै कारण फैलिने हैजा नियन्त्रणमा ठूलो टेवा पुर्याउँदै आएको पाईन्छ। पर्यावरणीय सन्तुल र वातावरण संरक्षणमा विशिष्ट योगदान पुर्याउने यस्ता किसिमका बिशिष्ट सांस्कृतिक परम्पराहरु आधुनिकताको चपेटामा परेर बिस्तारै लोप हुने स्थिति पैदा भएको छ।