आज विश्व हाँसो दिवसः यस्ता छन् हाँस्नुका फाइदा

मनाेरंजन विविध

शेयर गर्नु होस ।

आज विश्व हाँसो दिवस। सन् १९९८ देखि मे महिनाको पहिलो आइतबारलाई विश्वभर हाँसो दिवसको रुपमा मनाउन लागिएको हो।

भारतका डाक्टर मदन कटारियाले २१ वर्षअघि हाँसोमा आधारित योगामार्फत हाँसो दिवसको सुरुवात गरेका हुन्। हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन सकिने कटारियाको विश्वास छ।

हाँस्नुका फाइदा
हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै रोग प्रतिरोधी क्षमता वृद्धिमा पनि सहयोग पुर्याउँछ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने विज्ञहरुको भनाई छ।

विज्ञका अनुसार स्वस्थ रहन दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नुपर्छ।

यसले तौल घटाउन पनि सहयोग पुग्छ। कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो।

हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । जसले हाम्रो शरीरमा स्वतः ऊर्जाको विकास हुन्छ।

विज्ञहरुका अनुसार खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ। अनिद्राको समस्या हटाउन पनि हाँस्न जरुरी छ।

मुस्कुराउने वा नरम हुनाले एक–अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ । जो व्यवसायीका लागि सकारात्मक पक्ष हो । हँसिला मानिस मात्र व्यवसायमा सफल हुन्छन् भन्ने प्रमाणित भइसकेको तथ्य हो।

हाँस्दा फोक्सोमा ताजा हावा पुग्छ। यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ।

खुलेर हाँस्दा पीडा, चिन्ता दूर हुन्छ। नकारात्मक भावना पैदा हुन दिँदैन । बिहानको ताजा हावामा उन्मुक्त तरिकाले हाँस्नुपर्छ। अनि, बिहानैदेखि खुसी छाउँछ।

भनाई नै छ नि–जो हाँस्छ, उही बढी बाँच्छ।