‘आफू त महान् समाजसेवी परियो’ – शिशिर पाण्डे

कला साहित्य बिचार मनाेरंजन विविध

शेयर गर्नु होस ।

कविताः ‘आफू त महान् समाजसेवी परियो’

आफू त महान् समाजसेवी परियो – २
सुनाइ साध्य छैन हजुर ! के के गरियो गरियो
नाम होस् वा बदनाम होस् तर गुमनाम नहोस्
यहि मूलमन्त्र आत्मसाथ गरियो
आखिर उत्कृष्ट समाजसेवी न परियो -२

आसन, भाषण, माला र खादा आफ्नै पहिचान परे- २
सारा प्राप्त नहुदाँ कैयन पटक ठाउँको ठाउँ झगडा समेत गरियो
खादा र माइक सहितको फोटो पटक पटक अपलोड गरियो
फोन गरिगरि लाइक कमेन्ट र शेयर गर्न अनुरोध समेत गरियो
आखिर महान् समाजसेवी न परियो -२

आफ्ना अगाडि अर्काको प्रगती हेर्न सकिने कुरै भएन- २
धेरै पटक ईष्र्या र डाहाको दलदलमा गडियो
अर्कैको कामलाई पनि आफ्नै भनी लड्न सम्म लडियो
बखेडा सृजना गर्न धेरैका कानमा हावा समेत भरियो
आखिर उत्कृष्ट समाजसेवी न परियो -२

सबैका नजरमा मेरो क्षमता अद्भूतको छ रे- २
तेसैले त अरु कहाँ छन कहाँ आफू त अग्लो सिढी चढियो
उल्लेख्य योगदान हुदाँ जतासुकै चर्चामा परियो
उठ्नेदेखी चुठ्नेसम्म, हिड्नेदेखि भिड्ने सम्म
पोलेका खुट्टा टोक्ने देखि बोटल ठोक्ने सम्म
छ्यापछ्याप्ती पद बाड्ने देखि समाज भाड्ने सम्म
सबैलाई फेसबुक अनि पत्रिकाको पेजमा भरियो
के गर्ने हजुर, आफू त महान् समाजसेवी न परियो -२

यदाकदा सुन्ने गर्छु दुरुपयोग भयो अरे- २
सामाजिक सम्पतिले बियर सियर खायो अरे
हिडे गुडे कति कति भोग्नुपर्ने सबै भोगियो
अनुरोध घुर्कि धम्की पर्दाखेरी खुट्टा सम्म ढोगियो
आफ्नै मेहनतको कमाई हजुर अलि अलि खर्च गरियो
आखिर उही महान् समाजसेवी न परियो -२

हजुरहरुकै सेवा गर्न असाधारण त्याग गरियो- २
खाको जागिर च्वाट्टै छोडी पाको भत्ता झ्वाम्मै पारियो
इष्ट मित्र साथिभाई सबैलाई सेवा चाहिने
खुशी राजी बनाएमा जे गरेनी साथ पाइने
दाताबाट पाको रकम साथिभाइमा खर्च गरियो
आखिर उही महान् समाजसेवी न परियो -२

आज्ञाकारी बानी आफ्नो अग्रजको सिको गरियो -२
परम्परा कायम गरि सबको शिर ठाडो पारियो
दुरुपयोग कहाँ हुनु उपयोगकै खातामा हस्ताक्षर गरियो
आखिर स्वोघोषित महान् समाजसेवी न परियो -२

शिशिर पाण्डे, क्यानडा ।