इतिहासको रोचक तथ्य । बीपी कोइराला र केपी ओलीको नियति ।

राजनीति

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई तिहाई बहुमतको सरकारका अनेक प्रसंगमा २०१५ को आम निर्वाचनपछि बनेको दुई तिहाईको कांग्रेस सरकारसँग तुलना गरिन्छ ।

बहुमतको सरकारमात्र होइन, बीपी कोइरालाकोजस्तै हैसियत र उचाई बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीको नियति मिल्दोजुल्दो छ । २०१६ जेठ १३ गते प्रधानमन्त्री भएका नेपाली कांग्रेसका तत्कालिन सभापति कोइराला २०१७ पुस १ गतेसम्म मात्रै प्रधानमन्त्री भए ।

कांग्रेसको आपसी झगडाका बीच तत्कालिन राजा महेन्द्रले सत्ता हातमा लिँदै पञ्चायत कालको सुरुवात गरे ।

बीपी प्रधानमन्त्री भएको ५८ वर्ष पछाडि इतिहासकै दोस्रो बलियो सरकारको नेतृत्व गरेका केपी ओलीले अहिले झेलिरहेको समस्या ठ्याक्कै ६० वर्षकोजस्तै छ । दैनिक समाजमा छापिएका समाचार हेर्दा बीपीसँग केपी ओलीको नियमित मिल्दोजुल्दो छ ।

राजाले सत्ता हातमा लिने केही महिनाअघि कांग्रेसको आन्तरिक झगडा उत्कर्षमा रहेको बुझ्न सकिन्छ । जसरी अहिले ओली र माधव नेपाल–पुष्पकमल दाहाल समूहबीचको गालीगलौज उतिबेला पनि चर्को हुने रहेछ । समाचारमा भनिएको छ– केही दिनदेखि नेपाली कांग्रेसका कार्यकर्ताहरुमा खुलेआम गाली–गलौज र आलोचना हुन थालेको छ ।

अहिलेजस्तो मिडिया र सामाजिक सञ्जाल नभए पनि कार्यकर्ताहरुको झगडा भने चर्कै हुने रहेछ ।

त्यतिमात्र होइन ओलीले प्रधानमन्त्री वा अध्यक्ष पदमध्ये एक छाड्नुपर्ने आवाज पनि उठिरहेको छ । यस्तै आवाज बीपी कोइरालाविरुद्ध पनि उठेको छ । बीपीलाई पार्टीबाट हटाएर मातृकाप्रसाद कोइराला वा गणेशमान सिंहलाई अध्यक्ष बनाउनेसम्मको झमेला भएको रहेछ । अहिले केपी ओलीलाई पनि अध्यक्ष हटाएर माधव नेपाललाई बनाउने खालका रणनीति छन् नि हैन ?

केपी ओलीसमर्थकजस्तै बीपीका समर्थक भने दुइटै पद बीपीले नछाड्ने अडान लिने रहेछन् ।