इथियोपिया विमान दुर्घटनाः एक नेपाली, १८ क्यानेडियन, राष्ट्रसङ्घका १९ कर्मचारी सहित १५७ जनाकाे मृत्यु

नेपाल समाचार विश्व समाचार

इथियोपियामा आइतवार भएको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीमा कार्यरत नेपालकी एकता अधिकारीसहित संयुक्त राष्ट्रसङ्घका १९ कर्मचारी रहेको पुष्टि भएको छ।

राष्ट्रसङ्घको केन्यास्थित सुरक्षा विभागले तीमध्ये डब्ल्यूएफपीका सात, शरणार्थी निकाय यूनएचसीआरका दुई, इन्टर्न्याश्नल टेलिकम्युनिकेशन्स युनियन आईटीयूका दुई एवम् नाइरोबीस्थित यूएन कार्यालयका छ कर्मचारी भएको जनाएको छ।

फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशन एफएओ, इन्टर्न्याश्नल अर्गनाइजेशन फर माइग्रेशन आईओएम सुडानका एक, विश्व ब्याङ्क, र राष्ट्रसङ्घको सोमालियास्थित मिशन अन्सोमका एक-एक कर्मचारी पनि सो विमानमा थिए।

एक सय ४९ यात्री र चालकदलका आठ सदस्यसहित आदिस अबाबाबाट उडेको इथियोपियन एअरलाइन्सको बोइङ ७३७ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो।

दुर्घटनामा पर्ने एक नेपाली एकता अधिकारी डब्ल्यूएफपी इथियोपियाकी कर्मचारी हुन्। डब्ल्यूएफपी नेपालकी केसाङ लामाले अधिकारीका परिवारजनलाई दुर्घटनाबारे औपचारिक सूचना दिइसकेको बताइन्।अधिकारीको मूल घर गोर्खा हो। तर उनका बुवाआमा हाल अमेरिका भ्रमणमा रहेका छन् भने उनका भाइ नेपालमै छन्।अधिकारीले सन् २०१५ मा यूकेस्थित एङ्लिया रस्किन विश्वविद्यालयबाट एमबीए गरेकी थिइन्।अधिकारीले नेपालमा ठूलो भूकम्प गएको केही महिनापछि अर्थात् जुन २०१५ देखि डब्ल्यूएफपी नेपालमा काम गर्न थालेकी थिइन्। उनले गत वर्ष सेप्टेम्बरसम्म नेपालमा काम गरेको डब्लयूएफपी नेपालले जानकारी दिएको छ।गत वर्ष पपुआ न्यूगिनीना भूकम्प गएपछि उनलाई त्यहाँ सूचना व्यवस्थापन अधिकृतका रूपमा दुई महिना खटाइएको थियो। उनी सोही पदमा गत वर्ष सेप्टेम्बरमा इथियोपिया गएकी बिबिसि नेपाली सेवाले जनाएकाे छ ।