इमरान खानले लगाउलान् अजिंगरको छालाका चप्पल?

विश्व समाचार

शेयर गर्नु होस ।

पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको राजधानी पेशावरमा इमरान खानका लागि चर्चित जमाना कप्तान चप्पल बनाउने नूरउद्दीन काका यो पटक उनका लागि सर्पको छालाबाट विशेष चप्पल बनाइरहेका छन् । यो चप्पल प्रधानमन्त्री इमरान खानलाई ईदको उपहारका रुपमा दिइनेछ ।

नूरउद्दीन काकाले यो पटक इमरान खानलाई मन पराउने एकजना व्यक्तिले उनलाई आफ्ना कप्तानका लागि विशेष किसिमको उपहार दिन चाहेको बताए । नोमान नामका ती व्यक्तिले यसका लागि अमेरिकादेखि सर्पको छाला मगाएका छन् । यो छालाबाट इमरान खानका लागि चप्पल बनाउने उनको इच्छा थियो । नूरउद्दीन काकाले चप्पल बनाउन शुरु गरिसकेका छन् । ईदभन्दा पहिला नै यी चप्पल इमरान खानलाई उपहारका रुपमा दिइने उनलाई विश्वास छ ।

उनले भने, ‘यो निकै आरामदायी चप्पल हुनेछ, जसमा इमरान खानलाई गर्मी हुनेछैन । उनी यो चप्पल लगाएर जति काम गरे पनि थाक्ने छैनन् । मलाई विश्वास छ हाम्रा कप्तानलाई यो चप्पल निकै मन पर्नेछ ।’

न्ूरएद्दीन काका ठूला छोरा सलामाउद्दीनले यो पटक आफुले चप्पल बनाउन लागेको बताए । यो चप्पलको खाका उनले र उनका बाबुले बनाएका हुन् । उनले भने, ‘यो चप्पलको खाका हेर्दा साधारण पेशावरी चप्पल जस्तै हुनेछ तर, जब यसलाई लगाएपछि हेर्नेहरुले थाहा पाउनेछन्, यो निकै फरक छ ।’

सलामाउद्दीनका अनुसार यो चप्पल बनाउन चार फिट सर्पको छाला प्रयोग गरिनेछ । उनले प्रधानमन्त्री इमरान खानलाई यो चप्पल उपहार दिएपछि यसको ब्राण्ड नाम पनि राखिने बताए । यो चप्पल बनाउन करिब ४० हजार पाकिस्तानी रुपैयाँ लगानी हुनेछ । उनले यसअघि पाकिस्तानमा सर्पको छालाबाट चप्पल नबनाइएको बताए । यो चप्पल पूर्णरुपमा हातबाट बनाइनेछ । र निकै समय लाग्नेछ ।

संसारमा सर्पको छालाबाट कैयौं किसिमका वस्तुहरु बनाइन्छ । जसलाई शौखिन मानिसहरु उपयोग गर्छन् । उता जनावारको अधिकारका लागि काम गर्नेहरुको समूह भने यस किसिमका वस्तुहरुको विरोध गर्छन् । अन्तर्राष्ट्रि बजारमा अजिंगरको छालाबाट बनेको वस्तुको मुल्य हजारौं डलरसम्म हुन्छ ।

विशेषज्ञहरुका अनुसार यो चप्पल अजिंगरको छालाबाट बनाइनेछ । किनकी साना सर्पहरुको छालाबाट केही बन्न सक्दैन । यसैले ठूला सर्पहरुको छाला प्रयोग गरिन्छ । जसमा अजिंगर पर्छ ।

यूनिभर्सिटी अफ बाग, पाकिस्तान प्रशासित कश्मीरका पशु विशेषज्ञ प्राध्यापकले सर्पको छालाको तस्वीर देखेपछि यो अजिंगरको छाला भएको बताए । उनका अनुसार पाकिस्तानमा अजिंगर लोप भइसकेको छ वा निकै कम पाइन्छ । पाकिस्तानमा हाल कश्मीरको भम्बर जिल्लामा मात्र अजिंगर पाइन्छ ।

विशेषज्ञहरुका अनुसार पाकिस्तानमा अजिंगरको संख्या कम हुनुको कारण गैर कानुनी व्यापार र वातावरणसँग सम्बन्धित कारण हुन् । वन विभागका अधिकारीहरुका अनुसार अझै पनि अजिंगरको तस्करी र छाला विक्रीका मुद्दाहरु आउने गरेका छन् । हालैको दिनहरुमा इस्लामावाद वाइल्ड लाइफ म्यानेजमेन्ट बोर्डका अधिकारीहरुले कम्तिमा दुई अजिंगरका छाला बरामद गरेका थिए ।

अधिकारीहरुका अनुसार यी छालाहरुको विदेशमा तस्करी गर्ने प्रयास भएको थियो । पाकिस्तानको बलूचिस्तानका साथै दूरा देशमा अजिंगर सुरक्षित प्रजातिको रुपमा दर्ता गरिएको छ । यसलाई बेच्न वा खरिद गर्न प्रतिबन्ध लगाइएको छ ।