उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम

NRNA नेपाल समाचार

शेयर गर्नु होस ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्राष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ । जेट एयरवेज ग्राउन्डेड हुँदा नेपाल एयरलाइन्सलाई भारतमा उडान थप्ने अवसर थियो । तर, त्यो अवसर सदुपयोग गर्नुको साटो जहाजलाई आधा क्षमता मात्रै चलाएर बाँकी समय थन्क्याएर राखिएको छ ।

‘निगमका जहाज नियतवश ग्राउन्डेड गरेर भाडामा निजी जहाज कम्पनीलाई दिने कुत्सित उद्देश्यले काम भइरहेको छ,’ एक स्रोतले नयाँ पत्रिकालाई बतायो । दैनिक १८ घन्टा उड्न सक्ने वाइडबडी जहाज हाल नौ घन्टा मात्रै उडिरहेको छ भने १६ घन्टा उड्न सक्ने न्यारोबडी जहाज नौ घन्टा १५ मिनेट मात्रै उडिरहेका छन् ।

जहाज ल्याउनुअघि बनाइएको व्यावसायिक योजना लागू गर्नु कता हो कता, यसलाई बेवास्ता गरिएको छ । आर्थिक लाभ आर्जन गर्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रिय उडानबाट घाटा भइरहेको छ ।

निगमले वाइडबडी जहाजले पहिलो चरणमा जापान र कोरियामा उडान गर्ने योजना बनाइएको थियो । सो योजनाअनुरूप करिब डेढ वर्षअघि नै जापान र कोरियामा जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको थियो । तर, ती मुलुकमा जिएसए नियुक्तिको टुंगो करिब एक वर्षअघि नै लागे पनि उनीहरूलाई काम गर्न दिइएको छैन । कोरियाका लागि प्यासिफिक एयर एजेन्सीलाई जिएसएमा नियुक्ति गरिएको थियो ।

तर, कोरियाको उड्डयन नियामक निकायले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिनुअघि नेपालको हवाई सुरक्षा परीक्षण गर्नुपर्ने भन्दै पत्राचार गरेको थियो । नेपाल एयरलाइन्सले नै उनीहरूलाई यहाँ ल्याउने र राख्ने निर्णय भएको थियो । ‘कोरियाली अधिकारीलाई नेपाल आउने दिनसमेत उल्लेख गरी औपचारिक पत्र पठाउनुपर्नेमा हालका कार्यकारी अध्यक्ष मदन खरेलले त्यो रोकेर राखेका छन्,’ निगम स्रोतले भन्यो, ‘निगमको कोरिया उडान कुनै हालतमा रोक्ने नियत खरेलले राखेको देखियो ।’

त्यस्तै, निगमले सुरुमा जापानको नारिता विमानस्थलमा उडान गर्ने योजना बनाएको थियो । त्यसका लागि वेस्टर्न एसोसिएट्सलाई जिएसए छनोट गरिएको थियो । जिएसए छनोटलगत्तै नारितामा उडान अनुमति दिने पत्र जापानी अधिकारीबाट प्राप्त भए पनि कार्यकारी अध्यक्ष खरेलले छनोट भएको कम्पनीसँग सम्झौतै गरेनन् । बरु, ओसाका उडान गर्ने भनेर नयाँ योजना ल्याए । त्यसअनुरूप गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष देवमान हिराचनको कम्पनीलाई ओसाकाका लागि जिएसए नियुक्त गरियो । जापानको ओसाकामा उडानका लागि हिराचनले समेत पहल गरे र अनुमति पनि प्राप्त भयो ।

४ जुलाईदेखि उडान गर्न ठिक्क परिसकेको अवस्थामा यात्रु नपाएको भन्दै निगमले उडान स्थगित गरेको छ । तर, यात्रु नपाएको भनेर निगमले झुट बोलेको हिराचनले बताएका छन् । ‘नेपाल एयरलाइन्सले जापानमा टिकट काट्नका लागि हामीलाई सिस्टम नै जडान गरिदिएन, पटकपटक आग्रह ग-यौँ, तर नेपालबाट कर्मचारी पठाएर सिस्टम जडान गर्न आलटाल गरियो,’ हिराचनले एक टिभी अन्तर्वार्तामा भने । जापानमा सयौँ मानिसले आरएको उडानका विषयमा जिज्ञासा राखे पनि आफूहरूले टिकट बेच्न नपाएको गुनासो उनले गरे । जापानमा जिएसए नियुक्त गर्ने विषयमा विभिन्न शक्तिकेन्द्रको चलखेलका कारण हिराचनलाई टिकट काट्नै नदिइएको स्रोतले जनाएको छ ।

नेपाली युवाको प्रमुख रोजगारी गन्तव्यमध्येको एक संयुक्त अरब इमिरेट्सको दुबईमा हुने उडान निगमले जानाजान कटौती गरेको छ । निगमले हरेक दिन एउटा उडान गर्ने गरेको दुबईमा अहिले सातामा तीनवटा मात्र उडान गर्ने गरी झारेको छ । जब कि यात्रुको चाप हुँदा दुबईमा उडान संख्या बढाउनुपर्ने थियो ।

काठमाडौं–दुबई रुटमा फ्लाई दुबईका दैनिक तीनवटा उडान छन् । एयर अरेबियाको सारजहाँबाट दैनिक एउटा उडान छ । अबुधाबीबाट इत्तिहाद एयरलाइन्सले दैनिक एक उडान गर्दै आएको छ । अबुधाबी–काठमाडौं हिमालयन एयरलाइन्सले साताको तीनवटा उडान गर्दै आएको छ । युएईमा विदेशी एयरलाइन्सले यति धेरै उडान गरिरहेकोमा उनीहरूलाई नै सजिलो बनाउँदै नेपाल एयरलाइन्सले भने उडान घटाएको छ ।

हरेक दिन गर्दा न्यारोबडी जहाजबाट गर्ने गरेकामा अहिले सातामा तीन दिन वाइडबडी जहाजबाट गर्ने गरेको निगमका प्रवक्ता नवराज कोइरालाले बताए । वाइडबडी जहाजबाट उडान गर्दा पनि यात्रु ओसार्ने संख्यामा भने कमी हुन आउँछ ।

भारतीय सेवाप्रदायक जेट एयरवेज ग्राउन्डेड भएपछि उसले गत ३० चैतदेखि दिल्ली–काठमाडौं र मुम्बई–काठमाडौं उडान रोकिएको छ । जेटले हरेक दिन दिल्लीबाट तीन र मुम्बईबाट दुई उडान गरिरहेको थियो । जेट एयरवेज रोकिएसँगै निगमले यी दुवै रुटमा उडान थप्ने अवसर पाएको थियो । यसबीचमा दिल्ली–काठमाडौंको एकतर्फी भाडा महँगिएर ६० हजार रुपैयाँसम्म पुगेको थियो ।

तर, निगमले काठमाडौं–दिल्ली रुटमा उडान थपेन बरु जहाज पार्किङ गरेर राख्यो । त्यसअघि न्यारोबडी जहाजले दैनिक दुईवटा उडान गर्दै आएकोमा एउटालाई वाइडबडीले विस्थापन गर्नेबाहेक थप केही भएन । जेटले काठमाडौं–मुम्बई दैनिक दुईवटा उडान गर्दा पनि निगमले सातामा तीन उडान गर्ने गरेको थियो । जेट ग्राउन्डेड भएपछि पनि यस रुटमा निगमले कुनै उडान थपेन । निगमका प्रवक्ता नवराज कोइरालाले भारतीय रुटमा यात्रुको चापलाई ख्याल गरेर उडान व्यवस्था गरेको र थप्न आवश्यक नदेखिएको दाबी गरे ।