उत्तर कोरियाली शासक किम जोंग उन सकुशल ?

Breaking विश्व समाचार

मदन बस्नेत, टाेराेन्टाे । ०२ मे, २०२० ।

बहुचर्चित तथा बिबादास्पद उत्तर कोरियाली शासक किम जोंग-उन कुनै अज्ञात रोगबाट ग्रसित भएको र  मृत्युको मुखमा पुगेको भन्ने अनेकौं हल्ला र अड्कलबाजीका बीच एउटा कार्यक्रममा देखा परेको समाचार आएको छ। यद्यपि उत्तर कोरियाको सरकारी संचार माध्यमबाट प्रसारीत त्यो समाचारको पुष्टि भने भएको छैन।

पछिल्लो समयमा सार्बजनिक कार्यक्रमहरुमा उनलाई नदेखिए पछी उनको स्वास्थ्यलाई लिएर अनेकौं अड्कलबाजी गरिएको थियो। तर सरकारी मिडियाको त्यो समाचारसंग सम्बन्धित कुनै पनि तस्बिर र भिडियो सार्बजनिक नभएको हुनाले, समाचार झुठो हुन सक्ने आशंका पनि गरिएको छ।

कोरियाली समाचार एजेन्सी केसिएनले जनाए अनुसार किम जोंग- उन ले एउटा मल उत्पादन गर्ने कारखानाको रीबन काटेर उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा उनको बहिनी किम यो जोङ र अन्य बिशिष्ठ अधिकृतहरुको उपस्थिति थियो।

त्यहाँको सरकारी मिडियाको अनुसार जब रास्ट्रपति उन अगाडी आईपुगे तब त्यहाँ उपस्थित हजारौं जनताले तालिको गड्गडाहतबाट उनको स्वागत गरेका थिए।

यस अघि, उनी १२ अप्रिलमा मात्र त्यसरी सार्बजनिक रुपमा देखिएका थिए। त्यसरी लामो समयसम्म नदेखिएको कारण उनको स्वास्थ्यलाई लिएर मानिसहरूले अनेकौं टिकाटिप्पणी गरेका थिए।

किम बेपत्ता भएको यो नै पहिलो घटना भने होईन। यस अघि सन् २०१४ मा उनी ४० दिन बेपत्ता भएका थिए। सेप्टेम्बरमा अचानक हराएका उनी पछी अक्टोबरको मध्यमा एउटा सांगीतिक कार्यक्रममा टुप्लुक्क देखा परेका थिए।