उधारो २०० रुपैयाँ तिर्न: ३० वर्षमा मन्त्री बनेर फर्किए एक युवा

विश्व समाचार

एजेन्सी । भारतबाट अफ्रिका गएका एक युवा ३० वर्षपछि आफूले लिएको कर्जा तिर्न भारत फर्किएका छन् । उनले ३० वर्ष अगाडि २०० रुपैयाँ कर्जा लिएका थिए । किराना पसलको कर्जा तिर्न आउँदा उनी केन्याको मन्त्रीको रुपमा भारत भ्रमण गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट्न आएका बेला उनले तिर्ने योजना बनाए । औरंगावादका दोकानदार खोजेर उनले २०० रुपैयाँको सट्टामा १९ हजार रुपैयाँ फिर्ता गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केन्याका हालका मन्त्री रिचर्ड टोनगी महाराष्ट्र राज्यको औरंगावादमा सन् १९८५ देखि १९८९सम्म अध्ययन गरेका थिए । उनले क्याम्पस नजिकैको काशीनाथ गावलीको किराना पसलबाट सामान ल्याउने गर्थे । त्यसै पसलबाट उनले २०० रुपैयाँ कर्जा लिएका थिए ।

पढाई सकेर रिचर्ड केन्या फर्किए । केन्यामा उनले राजनीतिक जीवन सुरु गरे । उनी त्यहाँ मन्त्री बनेपछि भारत भ्रमणमा आए । भ्रमणको मुख्य एजेण्डाको रुपमा उनले आफ्नो पुरानो कर्जा तिर्नेकुरालाई राखे । केही समयअघि मात्र उनले भारतीय प्रधानमन्त्री मोदीलाई भेटे । दिल्लीमा भेटघाट सकेर रिचर्ड टोनगी औरंगावाद पुगे ।

औरंगावादमा महंगो होटल जातमा बास बसेका थिए । आफैले खोजी गरेर पसलमा पुगेका रिचर्डले १९ हजार भारतीय रुपैयाँ भुक्तानी गरे । गावली परिवारले मन्त्री रिचर्डलाई घरमा लगेर खानपिनको व्यवस्था गर्यो । 

भावुक हुँदै काशीनाथ परिवारले रिचर्डलाई सम्मान गर्यो । रिचर्ड पत्नीसंग गावलीको घर पुगेका थिए । गावली परिवारले गरेको सहयोगमा मन्त्रीले धेरै धन्यवाद दिएर आफ्नो देश भ्रमणको निम्ता दिएका छन् ।