उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरिय समितिले काम गर्न नसकेको ठहर:

नेपाल समाचार

काठमाडाैं । १५ जून २०२०। सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले उच्चस्तरीय समिति खारेज गरेपछी उक्त समितीको नेतृत्वको हैसियतले उपप्रधानमन्त्री ईश्वर पोखरेलले तत्काल राजीनामा दिनुपर्ने माग सर्बत्र उठ्न थालेको छ।

कोरोना संक्रमणलाई प्रभावकारी ढंगले ब्यबस्थापन गर्न नसकेको र परिक्षणकालागी आवश्यक स्वास्थ्य कीट खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्ने चौतर्फी गुनासो बढ्दै गएको परिप्रेक्ष्यमा उक्त समितिको खारेजी स्वाभाविक नै थियो, त्यो राम्रै भयो।

तर काम गर्न नसकेको आरोपमा त्यसरी समितिबाट गलहत्याईसके पछी उपप्रधानमन्त्री ईश्वर पोखरेलले समितिको नेतृत्वकर्ताको हैसियतले नैतिकताको आधारमा राजीनामा नदिएर पदमै टाँसिएको स्थितिले भने नेपाली राजनीतिमा नैतिकताको खडेरी परेको देखिन्छ।

गत फागुनमा पोखरेलको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, पर्यटन, वाणिज्य,कृषि, शिक्षामन्त्री सदस्य रहेको उच्चस्तरीय समिति गठन भएको थियो ।

अबदेखि समितिले गर्दै आएका कामहरुलाई सरकारले कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी लाई दिने निर्णय गरेको छ।

कोरोनासँग सम्बन्धित अधिकांश काम सुरुमा उच्चस्तरीय समिति र पछिल्लो पटक सी.सी एम.सी मार्फत हुँदै आएको छ ।

पछिल्लो समय लकडाउन खुकुलो बनाउने र स्वास्थ्य संकटकाल घोषणा गर्ने भन्ने विषयमा समेत उच्चस्तरीय समिति र सी.सी.एम.सीबीच विवाद थियो ।