एकै दिन ८३ जनामा कोरोना पुष्टि , नियन्त्रण बाहिर जानसक्ने सरकारी विज्ञको निष्कर्ष

नेपाल समाचार विश्व समाचार

मंगलबार कोरोना भाइरसका थप २६ संक्रमित थपिएका छन् ।

काठमाडौँमा एक र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आजै ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । ३४ जना निको भएका छन्।

नियन्त्रण बाहिर जानसक्ने सरकारी विज्ञको निष्कर्ष

अहिले सरकारले उदयपुरको भुल्के, वीरगञ्ज, नेपालगञ्ज, रुपन्देही र कपिलवस्तुलाई कोभिड-१९ को हटस्पट मानेको छ । यसबाहेक भारतसँग सिमाना जोडिएका सबै जिल्लालाई कोभिड-१९ को रेड जोनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका एक विज्ञकाअनुसार प्रदेश नम्बर २ र ५ लाई डेन्जर जोन मानिएको छ । त्यहाँ खुला सीमाका कारण भारतबाट रातको समयमा नेपालीहरु लुकिछिपी आउने गरेका छन् । र, कतिपय काठमाडौं उपत्यकामा पनि प्रवेश गर्ने गरेका मन्त्रालयमा रिपोर्टिङ छ । तर कुन ठाउँबाट कति मानिस आए भने यकिन तथ्याकं छैन ।

यसरी आएका मानिसहरुकै कारण कोरोनाको जोखिमपूर्ण क्षेत्र अझ बढ्ने एक विज्ञले सुनाए । ‘एक जनाले १० र १० ले सयलाई संक्रमित गराउन सक्छ,’ नाम उल्लेख गर्न नचाहने मन्त्रालयका एक विज्ञ भन्छन्, ‘हरेक नागरिक सतर्क भएन भने कोरोना हाम्रो नियन्त्रणभन्दा बाहिर जानेमा दुई मत छन् ।’

स्वास्थ्य मन्त्रालयका अर्का विज्ञ पनि त्यसमा सहमत देखिए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘पछिल्लो घटनाक्रम र मन्त्रालयमा भएको रिपोर्टिङले त्यस्तै देखाउँछ । सीमा नाका कडाई गर्न सक्यौं भने अझै पनि नियन्त्रण बाहिर गइसकेको छैन । अहिलेको जस्तै अवस्था रहृयो भने भन्न सकिन्न ।’

उनकाअनुसार पर्सामा भेटिएका केही संक्रमित र कपिलवस्तुका २९ जनामा भाइरसको लोड अति धेरै देखिएको छ । भाइरसको लोड बढी देखिएकाले उनीहरुले अरुलाई संक्रमण गराउने सम्भावना हुन्छ । ‘भारतबाट छिरेका, तर पहिचान हुन बाँकी कति संक्रमित छन् भन्न सकिन्न,’ उनी भन्छन्, ‘भारतबाट छिर्न लागेकाहरुलाई कि त रोक्नुपर्‍यो कि व्यवस्थित रुपमा ल्याउनुपर्‍यो ।’