एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री ओली सक्रिय

नेपाल समाचार

काठमाडौँ/ प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) सम्झौता अनुमोदनलगायत समसामयिक विषयमा छलफल गर्न आफ्ना दलका सचिवालय सदस्य एवं स्थायी कमिटीका सदस्यहरुलाई एकपछि अर्को गर्दै बालुवाटार बोलाएका छन्।

ओलीले शनिबार दिउँसो सचिवालयका सदस्यहरुलाई अनौपचारिक छलफल भन्दै बोलाएकोमा साँझपख एमसीसी अध्ययन कार्यदलका सदस्यहरु सदस्य एवं नेकपा स्थायी कमिटी सदस्य भीम रावललाई र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोलाएर छलफल गरेका छन्।

झण्डै एक वर्षदेखि संसदमा विचाराधीन एमसीसी सम्झौता अनुमोदनका लागि आफ्ना दलका नेताहरुबीच लविङ तिब्र बनाएका बेला शनिबार कार्यदलका संयोजक झलनाथ खनाल र सदस्यहरु रावल तथा ज्ञवालीसँग छलफल गरेका हुन्।

कार्यदलका संयोजक खनाल र सदस्य रावलले कार्यदलले मुलुकको राष्ट्रिय हित, स्वाधिनता र स्वतन्त्रताविपरित रहेकाले एमसीसी सम्झौता संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने सुझाव पेश गरेका थिए भने अर्का सदस्य ज्ञवालीले जस्ताको त्यस्तै सम्झौता पारित गर्नुपर्ने पक्षमा उभिएका थिए।

प्रधानमन्त्री ओलीले हालै संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जबाफ दिने क्रममा एमसीसी अनुमोदनको विकल्प नभएको सुनाएका थिए।