ओलीको पाउमा सचिवालयको बिन्ती: प्रचण्डको कार्यकारी लाटाको लङ्गौटी !

नेपाल समाचार

एमखबर डेस्क, क्यानडा।

कार्यकारी अध्यक्ष भनिएका ग दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी बहुमत सचिवालय सदस्यहरु बैठक डाकिदिनुपर्यो भन्दै प्रधानमन्त्री ओली सामु लम्पसार परेको पछिल्लो घटना क्रमले नेकपामा कार्यकारी अध्यक्ष बास्तबमा को रहेछ र पार्टी भित्र प्रचण्डको हैसियत के कति रहेछ त्यो सबै सामु छर्लङ्ग भएको छ। प्रचण्ड नेकपाका खोपा भित्रका देवता मात्र हुन् र उनको कार्यकारी हैसियत सेरोमोनियल मात्रै हो भन्ने पनि प्रमाणित गरिदिएको छ। 

पार्टी भित्र उत्पन्न बिबाद सुल्झाउन कुनै निर्णायक निर्णय गर्न त परे जावस् सचिवालयको एउटा औपचारिक बैठक सम्म पनि डाक्न नसक्ने अध्यक्ष प्रचण्डको निरिहताले उनले पाएको भनिएको नेकपाको कार्यकारी अध्यक्षको पगरी अन्ततः लाटाको लङ्गौटी साबित भएको छ।

कुनै बेला नेपालको राजनीतिका मियो बनेका प्रचण्ड यतिबेला अत्यन्तै निरीह, लाचार र अपहेलित अवस्थाबाट गुज्रि रहेका छन्। बिगतमा सिंह जस्तै गर्जने प्रचण्ड यतिबेला भिजेको बिरालो जस्तो लाचार र विवस देखिएका छन्। पुर्व एमाले नेताहरुको खटनपटनमा अपहेलना र तिरस्कार खेपेरै नेकपा भित्र बस्नु सिवाय आफ्नो अपमानको बदला लिन सक्ने हुति अब उनमा छैन।

नेकपा फुटाएर नयाँ पार्टी गठन गर्ने र चुनाव जितेर सता र शक्तिमा आउने आत्मबिश्वास र उत्साह पनि उनमा अब बाँकी देखिदैन। माओवादी खेमा भित्रैका पुराना नेताहरूले समेत उनलाई साथ दिन छाडिसकेको अबस्थामा उनी एक्लैको जोडबलमा पार्टी फुटाउन आवश्यक पर्ने चालीस प्रतिशतको संख्या पनि नपुग्ने शक्तिहीन र अत्यन्तै दयनीय अबस्थामा पुगेका छ्न्।

 पूर्व एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेब गौतमहरुलाई उस्काएर उनीहरुको पछी लागेर पार्टी फुटाउने हो भने पनि त्यसपछिको स्थिति भनेको त्यहाँ पनि फेरि अल्पमतमा नै पर्ने हो र माधव नेपालको खटनपटनमा नै बस्नु पर्ने परिस्थिति छ। त्यसमाथी पार्टी कुनै हालतमा नफुटाउने माधव नेपालको पछिल्लो अभिव्यक्तिले प्रचण्डको भबिष्य झनै अन्योलग्रस्त र संकटपुर्ण बनेको छ। निरन्तरको अवहेलना र अपहेलना सहेर नेकपा भित्रै लाचार भएर बस्नु सिवाय अर्थोक विकल्प उनी सामु छैन।

 प्रचण्डले पार्टी भित्र बेला कुबेला मच्याईरहने बितन्डाले पूर्व एमाले पंक्ति यति बिच्किएकको छ कि उनीहरु अब प्रचण्डलाई भबिष्यमा पार्टी अध्यक्ष त के पार्टी नेताको रुपमा पनि स्विकार्नै नसक्ने स्थितिमा पुगेका छ्न् र आगामी महाधिवेशन सम्म पार्टी एउटै रहिरहे त्यहिँबाट प्रचण्डलाई पाखा लगाईदिने चेतावनी दिईरहेछन्। त्यसैले प्रचण्डको अहिलेको स्थिति, तावाबाट उछिट्टिएको माछा भुङ्ग्रामा भने जस्तो भएको छ। केपी ओलीको पेलाई खप्न नस्केर माधव नेपालको शरणमा पुगेका उनी यतिबेला माधवकुमार नेपालको खटनपटन र निगाहमा बस्नु परेको छ।

 दुस्साहस गरेर पार्टी फुटाई हाल्ने हो भने पनि उनको अबको हैसियत भनेको चित्रबहादुर केसी र मोहन बिक्रम सिंहको जस्तो “साईनबोर्ड पार्टी” मा सिमित हुनु पर्ने छ। किनभने जन सरोकारको मुद्दा छोडेर दिनरात सत्ता स्वार्थमा लागेको, आफ्ना गुट र  आसेपासेलाई सत्ता र शक्तिमा पुर्याउन प्रधानमन्त्री ओलीसंग दिनरात किचकिच गरेको, सत्तामा भागबन्डा मात्रै खोजेर पार्टी भित्र गुटबन्दी गरेको र प्रष्ट बहुमतको सरकारलाई काम गर्न नदिएको र छँदखाँदाको बहुमतको सरकार गिराएको कलंक पार्टी फुटाए संगै प्रचण्डको थाप्लामा लाग्ने छ। जसलाई न त उनले पखाल्न सक्ने छ्न् न त नेपाली जनताले नै उनलाई माफी दिने छन्। 

पार्टी फुटाउँदा उनलाई माओवादीका पुराना नेता कार्यकर्ताले पनि साथ नदिने परिस्थितिमा पार्टी फोर्नु भनेको प्रचण्डकालागि आफ्नै खुट्टामा बन्चरो हान्नु सिवाय अर्थोक साबित हुन सक्दैन। नेकपा भित्रै बसिरहँदा पनि उनलाई अब कसैले पनि टेरपुच्छर लगाउने अवस्था छैन। केपी ओलीको निगाहमा पार्टी अध्यक्षको पगरी गुथ्न पाएका प्रचण्डको हैसियत आफ्नै बलबुतामा चुनाव लड्ने हो भने अब हुने महाधिवेशनमा केन्द्रिय सदस्य पनि जित्न नसक्ने स्थिती छ।

उनले जति पल्ट सरकारको आलोचना गरे र प्रधानमन्त्री ओलीको कार्यशैलीको विरुद्धमा पार्टी भित्र गुटबन्दी गरे, ती सबै घटनाबाट ब्यक्तिगत लाभ मात्र हाँसिल गरे। देश, जनता र पार्टीलाई होईन, आफुलाई शक्तिशाली बनाउने ध्याउन्नमा लागे। सत्तामा भागबन्डा मात्रै खोजे। कुरा विधि, बिधान र पद्धतिको गर्ने तर अन्तिममा ब्यक्तिगत लाभको लेनदेनमा टुङ्ग्याउने गरेर आफ्नो स्वार्थ सिद्ध गर्न मै मात्र केन्द्रित भए। उनका कुरा पत्याउने र साथ र समर्थन गर्ने अरु नेताहरुलाई थाङ्नामा सुताउने काम मात्र गरे। उनको त्यस्तो आत्मकेन्द्रित र चरम महत्वाकांक्षी प्रवृत्तिका कारण उनकै साथ र समर्थनमा रहेका पूर्व माओवादी नेताहरूले नै उनलाई छाडिसकेका छ्न्।

 पूर्व एमाले पक्षधर नेताहरु बामदेब गौतम, झलनाथ खनाल र माधव नेपालको प्रचण्ड माथिको अहिलेको समर्थन क्षणिक मात्र हो।  स्वार्थ नमिल्ने बितिक्कै उनीहरु बीचको एकता तासको पत्ता जस्तै गर्ल्य्यामगुर्लुम्म ढल्ने निश्चिति छ। त्यसैले प्रचण्डले नेकपा भित्र जुनसुकै पद र ओहदा पाए पनि कि प्रधानमन्त्री ओलीको, होईन भने वरिष्ठ नेता माधवकुमार नेपालको खटनपटनमा हैसियत बिहिन बनेर बस्नु पर्ने बाध्यता आईपरेपछी उनको राजनीतिक यात्रा अब बिस्तारै अवसान तिर लागेको अनुमान गर्न सकिन्छ।