‘ओलीले तपाईँलाई इमोसनल ब्ल्याकमेल गर्दै हुनुहुन्छ, त्यसमा नफस्नुहोस्’ : माधव नेपाल

नेपाल समाचार

काठमाडौँ /राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुपर्ने दबाब आइरहेका बेला सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनेबारे सपनामा पनि नसोचेको बताएका छन्।

स्रोतका अनुसार आइतबार राष्ट्रपति भण्डारीलाई भेट्दै प्रचण्ड र नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो झगडा नीति, सिद्धान्त र विधिका लागि भएको र निहित स्वार्थ पूर्तिका लागि ओलीले संविधान विपरित ल्याउने अध्यादेशहरुमा हस्तक्षर नगर्न आग्रह गरेका थिए।

त्यसको जवाफमा राष्ट्रपति भण्डारीले आफूले सबैलाई भेट्नै पर्ने अवस्थामा रहेको र आफूबाट नियम विपरित कुनै पनि काम नभएको बताएकी थिइन्।

प्रचण्डले पार्टीलाई एक बनाउने अभियानमा होमिएको र बरु त्यसमा सहयोगी भूमिका निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका छन्।

‘अहिले ओलीले पार्टी फुटाउनु भयो भने के गर्ने? त्यसबारे हामीले छलफल गरेका हौँ। तपाईँकोबारेमा सोच्ने कुरा भएन,‘नेता नेपालले राष्ट्रपति भण्डारीलाई बताएको स्रोतले भन्यो।

नेता नेपालले राष्ट्रपति भण्डारीलाई भनेको थिए,‘ पहिले तपाईँ पार्टीको कार्यकर्ता हुनुहुन्थ्यो। पार्टीले नै तपाईँलाई राष्ट्रपति बनाएको हो। केही समस्या पर्दा मैले या अन्य नेताहरुले तपाईँलाई भन्नु स्वाभाविक हो। तर ओलीले तपाईँलाई ‘इमोसनल ब्ल्याक मेल’ गर्दै हुनुहुन्छ। त्यसमा नफस्नुहोस्।’

यस्तै नेपालले भण्डारीलाई राष्ट्रपतिको हैसियतमा पार्टी नफुटाउनुहोस् भन्न सकिने समेत बताएका थिए।

नेकपाभित्र ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न चर्को दबाब दिइरहेका प्रचण्ड, खनाल र नेपालले राष्ट्रपतिलाई भेटेका थिए।

अघिल्लो दिन शनिबार राष्ट्रपतिसँगको भेटपछि ओलीले बालुवाटारमा मन्त्रीहरुसँग राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको ‘ब्रिफिङ’ गरेका थिए।

ओलीले त्यस्तो ‘ब्रिफिङ’ गरेपछि प्रचण्ड, खनाल र नेपाल राष्ट्रपतिलाई भेट्न गएका थिए।