ओलीविरुद्धको अविश्वास प्रस्तावका लागि सांसदको हस्ताक्षर जुटाउँदै काँग्रेस

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । बुधबारको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकबाट नयाँ सरकार गठनका लागि परिस्थिति अनुकुल बन्दै गएको निष्कर्ष निकालेको काँग्रेसले आफ्ना सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनेको छ । विशेष गरी काठमाडौं उपत्यका बाहिर भएका सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनिएको हो ।

बर्दियामा रहेका सांसद किशोर सिंह राठोरले काठमाडौंमा रहेका सांसदले सोही अनुसारको सूचना पठाएको बताए । पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद अधिवेशन अन्त्यपछि काँग्रेसका केही सांसद गृहजिल्ला पुगेका छन् ।

माओवादीले विश्वासको मत फिर्ता र अविश्वासको प्रस्ताव दर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएपछि काँग्रेसले आफ्ना सांसद तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

अब काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच निर्णायक छलफल गरेर अविश्वास प्रस्ताव अघि बढाउने तयारी भइरहेको बुझिएको छ ।