ओली–प्रचण्डविरुद्ध किन लड्न सक्दैनन् माधव नेपाल

नेपाल समाचार

निकै ठूलो माथापच्चीपछि सत्तारुढ नेकपाले पार्टी एकता भएको वार्षिकोत्सवका दिन ३ जेठमा जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको चयन गर्न सक्यो। जिल्ला कमिटीहरुको एकताका लागि ६ महिना लामो माथापच्चीपछि नेकपाले जिल्ला नेतृत्वको चयन गर्न सकेको थियो।

जिल्ला नेतृत्व चयनका लागि यति लामो समय लाग्नुको कारण थियो, स्पष्ट मापदण्ड निर्माण गरेरमात्र जिल्ला नेतृत्व चयन गर्नुपर्छ भन्ने बरिष्ठ नेता माधव नेपालको माग। नत्र प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अधिकांश जिल्लामा आफू निकटस्थलाई राखेर जिल्ला कमिटी गठन गर्ने योजनामा थिए।

नेपालले यसो हुनबाट रोके। पार्टी विधि र पद्दतिबाट चल्नुपर्ने बताउँदै बरिष्ठ नेता नेपालले केन्द्रीय सदस्यहरुलाई जिल्ला ईञ्चार्ज र सह-ईञ्चार्जको जिम्मेवारी दिइँदा पनि स्पष्ट मापदण्ड बनाइनुपर्ने, त्यस अन्तर्गत राज्यका कार्यकारी निकायमा रहेका केन्द्रीय सदस्यहरुलाई जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी दिन नहुने अडान राखेका छन्।

नेपालको यो अडानमा ओली सहमत छैनन्। यही कारण केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि गत हप्ता बोलाइएको नेकपा केन्द्रीय सचिवालयको बैठक विना निर्णय टुङ्गियो। आफू युरोप भ्रमणबाट फर्केपछि प्याकेजमा सहमति गरेर जिम्मेवारी बाँडफाँट गर्ने विश्वास प्रम ओलीले नेताहरुलाई दिएका छन्।

नेकपाभित्र विधि र पद्दतिलाई लात मार्नेमा अध्यक्षद्वय प्रम ओली र पुष्पकमल दाहाल (प्रचण्ड) मात्र जिम्मेवार छैनन्, आफूलाई अनुकूल हुँदा विधि र पद्दति तोड्नेमा नेता नेपालपनि उत्तिकै जिम्मेवार छन्। आफूलाई अनुकूल नहुने भयो भनेमात्र नेपालले विधि र पद्दतिको कुरा गर्ने गरेको अन्य नेताहरुको आरोप छ।

नेता नेपालमाथि लागेको यस्तो आरोप पुष्टि गर्ने पछिल्लो उदाहरण राजदूत side effects सिफारिस सम्बन्धी निर्णय। मन्त्री परिषदले अघिल्लो हप्ता चार देशमा राजदूत सिफारिस गरेको छ। सिफारिस भएका नारद भारद्वाज वाग्ले (कतार), बंशीधर मिश्र (बंगलादेश), दावाफुटी शेर्पा (स्पेन) र महेश दाहाल (अष्ट्रेलिया) मध्ये बंगलादेशका लागि सिफारिस गरिएका मिश्र नेपाल निकट हुन्।

भारद्वाज र शेर्पा प्रधानमन्त्री प्रम ओलीको कोटामा, दाहाल नेकपाका अर्का अध्यक्ष प्रचण्डको कोटामा र मिश्र बरिष्ठ नेता नेपालको कोटामा राजदूत बनेका हुन् भन्ने प्रष्ट छ। भारद्वाज झापा संघर्षका क्रममा जेल परेका प्रम ओलीका जेलजीवनदेखिकै सहकर्मी हुन् भने ‘शेर्पा खानदान’ सँगको सम्बन्धका कारण उनले प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटीलाई राजदूतमा सिफारिश गरेको लुकेको छैन।

यद्यपी शेर्पा अमेरिकाबाट अध्ययन सकेर फर्केकी जनजाती समुदायकी एकजना योग्य पात्र नै हुन्।

यो पनि बुझिने कुरा हो कि, राजनीतिक नियुक्ति हुँदा सत्तारुढ दल निकट व्यक्तिहरु नै नियुक्त हुने हुन्। तर, त्यसको पनि एउटा प्रक्रिया हुन्छ। यस्ता महत्वपूर्ण नियुक्ति दलको निर्णयको आधारमा गरिने प्रचलन छ।

तर, राजदूत सिफारिस सम्बन्धी निर्णय नेकपाको कुनै पनि बैठकले गरेको छैन। केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि गत हप्ता दुई दिन बसेको केन्द्रीय सचिवालयको बैठकमा पनि यस विषयमा कुनै छलफल भएको थिएन। पार्टीमा छलफल विना बिहिबार बसेको मन्त्रीपरिषद् बैठकबाट प्रम ओलीले राजदूत सिफारिस सम्बन्धी निर्णय गराए।

नेता नेपालले सरकारले पटक पटक गरेका महत्वपूर्ण निर्णय दलको बैठक विना भएको बताएर असन्तुष्टि पोख्दै आएका छन्। पार्टी निर्णय विना गरिएको राजदूत सिफारिस सम्बन्धी निर्णयप्रति नेता नेपालले असन्तुष्टि जनाएका छैनन्। यसको कारण आफू निकट मिश्रलाई पनि राजदूत सिफारिस गरिनु हो।

‘ओली र प्रचण्डसँग विधि र पद्दतिको के अपेक्षा गर्नु? अध्यक्षद्वयको विधि र पद्दति भनेको आफ्नो गुट र परिवारका मानिसलाई अवसर प्रदान गर्नु हो’ नेकपाका एक नेताले भने, ‘अलि अलि विधि र पद्दतिको कुरा गर्ने माधव नेपाल हो, तर आफ्नो स्वार्थ पुरा नहुँदामात्र उहाँले विधि र पद्दतिको कुरा गर्ने गर्नुभएको छ।’

जानकार स्रोतका भनाईमा, केन्द्रीय सचिवालयको बैठक आफू युरोप भ्रमणबाट नफर्कुञ्जेलसम्मका लागि स्थगित गर्दा ओलीले भनेका थिए, ‘युरोपबाट फर्केपछि प्याकेजमै सहमति गरेर कार्यविभाजन गरौँला।’

त्यसप्रति नेता नेपालले कुनै असन्तुष्टि जनाएनन्।

ओलीले ‘प्याकेजमा सहमति गरौँला’ भन्नुको मतलव थियो, भागबण्डा। नभन्दै, लगत्तै ४ जनालाई सरकारले राजदूत सिफारिस गर्यो। भागवण्डामा नेपाल निकट डा मिश्र पनि समेटिए। पार्टी निर्णयविना भएको यो निर्णप्रति नेता नेपाल सन्तुष्ट देखिन्छन्।

‘जसरी राजदूत चयन भयो र आफू निकटस्थ डा मिश्र पनि सिफारिसमा परेपछि माधव नेपाल चुप लाग्नु भएको छ, यसबाट उनले उठाउँदै आएको विधि र पद्दतिको माग पार्टीका लागि नभएर आफ्नो स्वार्थका लागि हो भन्ने पुष्टि भएको छ’ नेकपाका अर्का नेताले भने, ‘पार्टी सञ्चालनका विषयमा बेला–बेला नेतृत्वका गलत क्रियाकलापविरुद्ध अडान लिएजस्तो देखिएपनि उहाँपनि ओली–प्रचण्ड भन्दा फरक हुनुहुन्न भन्ने पुष्टि भएको छ। र, आफैले नैतिक धरातल गुमाउँदा उहाँ अध्यक्षका स्वेच्छाचारी निर्णयविरुद्ध लड्नै नसक्ने स्थितिमा पुग्नुभएको छ।’