कर बुझाउने सरकारी ताकेताप्रति चेम्बरको आपत्ति, भन्‍यो- विडम्बनापूर्ण

अर्थ तथा ब्यापार

शेयर गर्नु होस ।

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आन्तरिक राजश्व विभागको कर विवरण एवम् रकम बुझाउने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोभिड -१९ को प्रकोपका कारण विगत ७० दिनदेखि मुलुक लकडाउनमा भएकोले समग्र आर्थिक एवम् व्यावसायिक कारोबार ठप्प भएको अवस्थामा कर बुझाउने म्याद जारी हुनु आफैंमा बिडम्वनापूर्ण रहेको जनाएको छ । चेम्बरले तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिकलगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य विविध खर्चहरु समेत धान्‍न नसकी रहेको अवस्था रहेको समेत जनाएको छ ।

“आव २०७७-७८को प्रस्तुत बजेट सम्बोधनको क्रममा समेत व्यवसायिक क्षेत्रले भोगीरहेको कठिन चुनौतीलाई स्वीकार गरिसकेको अवस्था पनि छ” चेम्बरले भनेको छ, “यस्तो कठिन अवस्थामा व्यवसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामा आयकर,मूल्य अभिवृद्धि कर र अन्तशुल्कको विवरण र कर रकम लकडाउनको अवधिमा बुझाउने म्याद जारी हुनु आफैंमा बिडम्वना पूर्ण रहेको छ ।”

स्वास्थ सुरक्षाको प्रत्याभूतीका साथ लकडाउनको अवधिमा अबिलम्व आर्थिक कृयाकलाप चलायमान बनाउन व्यवसायिक वातावरण सृजना गर्न पनि चेम्बरले माग गरेको छ ।

यस परिस्थितिमा लकडाउन समाप्त भई व्यवसायिक वातावरण सुचारु भएको ३ महिनामा कर विवरण एवम रकम बुझाउने व्यवस्था गर्न र विद्यमान सूचना खारेज गरी व्यवसायीको माग बमोजिम नयाँ सूचना जारी गर्न समेत चेम्बरले आग्रह गरेको छ ।