कवि गोष्ठी

कला साहित्य

नेसासको चौथो पाक्षिक भर्चुअल कवि गोष्ठी सम्पन्न: अबदेखि मासिक रुपमा आयोजना गरिने !

एमखबर न्यूज डेस्क, क्यानाडा। ०१ जून, २०२० । नेपाली साहित्य समाज क्यानाडाले प्रत्येक पन्ध्र दिनको अन्तरालमा आयोजना गर्दै आएको भर्चुअल कवि गोष्ठीको चौथो पाक्षिक शृङ्खला हिजो साँझ आईतवार सफलतापूर्वक सम्पन्न भएको छ।

सदा झैं यस पटक पनि कवि गोष्ठी, समाजका अध्यक्ष रबिन थपलियाको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने गोष्ठीको संचालन समाजका महासचिव खेम गुरागाईंले गर्नुभएको थियो। 

यस पटकको कवि गोष्ठी हाँस्य ब्यङ्ग्य बिधामा आधारित हुने पूर्व सूचना अनुरुप नै सहभागी सबै स्रष्टाहरुले हाँस्यरस र ब्यङ्ग्यवाण युक्त रचनाहरु प्रस्तुत गर्नु भएको थियो।

भर्चुअल कवि गोष्ठीमा सहभागीता जनाउने र कविता वाचन गर्नेहरुमा डा. तुलसी धरेल, सुदर्शन पौडेल, शर्मिला पोख्रेल, ऋषि दाहाल, रेखाकिरण पौडेल, राजेन्द्र कार्की, रबिन्द्र लम्साल, रबिन्द्र घिमिरे, रबिन थपलिया, पुण्य सागर मरहठ्ठा, मुक्ति गाैतम , मोनिका ढुंगाना, मोहन खरेल, मनकाजी श्रेष्ठ, मञ्जु आचार्य, कुसुम ज्ञवाली, खेम गुरागाई, जयराम सिम्खडा, गोबिंन्दसिंह रावत, गोपिकृष्ण काफ्ले, देवराज सुवेदी, बिष्णु पंगेनी, अशोक खड्का, अनुजा घिमिरे, अनिता गिरी, सुरेन्द्र राजभण्डारी लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो।

उक्त गोष्ठीमा क्यानाडाको विभिन्न शहरहरु टोरोन्टो, मिसिसागा, ब्राम्टन, विण्डसोर र भ्यानकुभर लगायत क्यानाडा भन्दा बाहिर बेलायत र अमेरिकाबाट पनि सष्ट्राहरु जुट्नु भएको थियो।

भर्चुअल कवि गोष्ठीका चारै वटा शृङ्खलाहरुलाई सफलतापूर्वक सम्पन्न गर्न साथ, सहयोग र सहभागिता जनाउने सबै स्रष्टाहरुलाई नेपाली साहित्य समाज, क्यानाडाले धन्यवाद ज्ञापन गरेको छ।

कोरोना प्रकोप क्यानाडामा दिनानुदिन कम हुँदै गएको र लकडाउन पनि क्रमशः खुकुलो हुँदै गएको हुनाले सबैको कार्य ब्यस्ततालाई मध्यनजर गर्दै आगामी शृङ्खलादेखि पाक्षिक रुममा आयोजना हुँदै आएको भर्चुअल कवि गोष्ठी मासिक रुपमा आयोजना गरिने र तद्अनुसार अबको पाँचौ भर्चुअल कवि गोष्ठी “जून” महिनाको अन्तिम आईतवार साँझ सात बजे हुने जानकारी समाजका अध्यक्ष रबिन थपलियाले दिनु भएको छ।