कांग्रेस प्रवेश गर्न सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए सामूहिक राजीनामा

राजनीति

शेयर गर्नु होस ।

काठमाण्डौं/ राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् ।

राजीनामा दिनुहुनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह हुनुहुन्छ ।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उहाँहरुले संयुक्त राजीनामा उल्लेख गर्नुभएको छ ।

राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँुदा राप्रपाप्रतिको आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ ।

उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने उल्लेख गर्दै उहाँहरुले आजकै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्नुभएको छ । राजीनामा दिनेमा सो पार्टीका १२ केन्द्रीय सदस्य हुनुहुन्छ । सुनिल आफ्नो समूहसहित नेपाली काँग्रेस प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ ।