काठमाडौंं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित

नेपाल समाचार

एमखवर नेपाल सम्बाददाता। ०७ अगस्ट २०२०। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले दिने सेवा १५ दिनकालागी स्थगित गर्ने भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले शान्ति सुरक्षा तथा अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नु पर्ने तर त्यसकालागि सम्बन्धित कार्यालय प्रमुखले नै निर्णय गर्ने जनाएको छ।

बैठकले कोरोना भाइरस संक्रमण हुनवाट जोगिन सरकारले टोकेका मापदण्ड कडाईका साथ लागु गरिने निर्णय गर्नुका साथै मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी सधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने निर्णय पनि गरेको छ ।