काठमाडौं उपत्यका आसपास विप्लव समूहको हतियारसहित तालिम

नेपाल समाचार

शेयर गर्नु होस ।

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यका आसपासका जिल्लाहरूमा सशस्त्र तालिम र गतिविधिहरू गरिरहेको रहस्य बाहिर आएको छ ।

काभ्रे, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरूमा नेकपाका महासचिव विप्लवले तालिम चलाएका हुन् । यी जिल्लाका दुर्गम गाउँहरूमा हतियारसहित तालिम गर्ने गरेको प्रत्यक्षदर्शीहरू बताएका छन् ।

विप्लव समूहले ललितपुर र मकवानपुरका विकट तथा दुर्गम गाउँहरूलाई आफ्नो केन्द्र बनाउन थालेका छन् ।ती जिल्लाको दुर्गम गाउँ र भौगोलिक विकटताका कारण सुरक्षा निकायको ध्यान जान सकेको छैन । सोही अवसर छापेर विप्लवको नेकपाले आफ्ना सैन्य तालिम र गतिविधिहरूलाई सक्रिय बनाएको हो ।

बन्दोबस्तीका सामानहरू विप्लव समूहले काठमाडौं उपत्यकाबाटै लैजाने गरेको उच्च स्रोतले जनाएको छ ।दुई हप्ता अगाडि सोलुखुम्बुमा पनि विप्लवका कार्यकर्ताहरू देखिएको र प्रहरी चौकी आक्रमण गर्न आएको भनेर समाचार बाहिर आएका थिए । चौकी आक्रमण नभएपनि विप्लवका कार्यकर्ताहरूले सो क्षेत्रमा तालिम लिएको प्रत्यक्षदर्शीहरूको भनाइ उदृत गर्दै समाचार आएका थिए ।

महासचिव विप्लवले सुरक्षा निकायलाई आक्रमण गर्ने कुनै नीति नरहेको जनाए पनि विकट गाउँहरूमा भइरहेका सशस्त्र तालिम र गतिविधिहरूले विभिन्न आशंकाहरू उब्जाएको छ । सरकारले विप्लव समूहको यस्तै गैर कानूनी गतिविधिको सूचना पाएर नै प्रतिबन्ध लगाएको हुन सक्ने टिप्पणी हुन थालेका छन् ।