कानुनमा एमाले एकैतिर, व्यवहारमा दुईतिर : अहिलेसम्म ओली र नेपालको भएन भेट

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं । ओली र प्रचण्ड गुटमा विभाजित नेकपा एमालेलाई फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एकैतिर पारिदिए तर व्यवहारमा त्यसो हुन सकेको छैन ।

अदालतको फैसलाले एमाले व्यूँताइ दिएपनि एमालेजन भने दुई गुटमै छन् । तीन दिन बितिसक्दा पनि एमालेको बैठक बस्न सकेको छैन । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिलेसम्म भेट समेत हुन सकेको छैन ।

‘ओली प्रवृत्तिविरुद्ध एमालेमै रहेर संघर्ष गर्ने निष्कर्षसहित’ दुई दिनअघि पेरिसडाँडाबाट बिदा भएका नेपाल समूहको ओलीसँग औपचारिक भेट भएको छैन ।
सोमबार नै एमालेको सचिवालय बैठक बस्ने चर्चा थियो । तर, नेताहरुबीचमा भेटघाट नै नभएपछि बैठक अनिश्चित बनेको छ ।

परराष्ट्रमन्त्री समेत रहेका एमालेका नेता प्रदीप ज्ञवालीले यो साताभित्रमा एमालेको बैठक बस्ने जानकारी दिए । उनले भने, ‘यो साताभित्र बैठक बस्छौं, मिति यकिन भइसकेको छैन ।

यसबीचमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका नेताहरुको व्यवस्थापनलगायतका विषयमा टुंगो लगाउँदैछन् ।

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा आफ्ना नेताहरुसँग परामर्श बैठकहरु गरिरहेका छन् । कानुनतः एक भएपनि वरिष्ठ नेता नेपालहरु भने अहिलेसम्म एमाले पार्टी कार्यालय धुम्बाराही पनि पुगेका छैनन् । नेपाल समूहले बुधबार आफ्ना केन्द्रीय सदस्यहरुको भेला नयाँ बानेश्वरस्थित एक होटलमा गरेका छन् ।