केपी सरकार होइन कीर्ते सरकार हो : भीम रावल

नेपाल समाचार

धनगढी – नेकपा दाहाल–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्रीको कीर्ते सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले यस्तो आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गर्दा पनि संविधानको कुनै धारा उल्लेख गरेका छैनन्,’ रावलले भने, ‘राजपत्रमा पनि नक्कली रूपमा पहिलेको मिति राखिएको छ । सरकार आफैँ कीर्ते काम गर्ने ? अब केपी सरकार होइन कीर्ते सरकार हो ।’ उनले प्रतिनिधिसभा विघटनपछि बहुमत सदस्य रहेको आफ्नो पक्ष नै आधिकारिक भएको बताउँदै निर्वाचन आयोगले पनि बहुमत सदस्यको पक्षमा निर्णय लिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध माघ १७ गते धनगढीमा विरोध सभा गर्ने पनि रावलले जानकारी गराए । उनले प्रतिनिधीसभा विघटनविरुद्ध हुने विरोध सभालाई सम्बोधन गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल धनगढी आउने बताए ।

यसअघि धनगढीमा नेकपा (ओली समूह) ले धनगढीमा सभाको आयोजना गरेको थियो । सभालाई प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरेका थिए ।