कोइराला निवासबाट सुरक्षाकर्मी हटाएगलत्तै विराटनग महानगरपालिकाले नगर प्रहरी परिचालन गर्यो

नेपाल समाचार

शेयर गर्नु होस ।

सुरक्षाकर्मीको दुरुपयोग रोक्ने नीति अनुसार सरकारले विरानटर स्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाएगलत्तै विराटनगर महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ।

कोइराला परिवारको इतिहास जोडिएको भएपनि गिरिजाप्रसाद कोइरालाको निधनपछि अंशबण्डा गरेर डा.शेखर कोइरालाको भागमा परेको निवासको सुरक्षामा मंगलबारदेखि तीन जना नगर प्रहरी खटाइएको छ। पूर्वविशिष्टहरुको निवास सुरक्षाको लागि सरकारले सुरक्षाकर्मी खटाउने गरेको भएपनि गिरिजाप्रसाद कोइरालाको निधनपछि पनि कोइराला निवासमा सुरक्षाकर्मी हटाइएको थिएन। पूर्वविशिष्टको निधन भएर त्यो सम्पत्ती सन्तानहरुले भागबण्डा गरेर टुक्रा–टुक्रा पारेपछि पनि सुरक्षाकर्मी खटाइनु गलत रहेको निश्कर्षसहित गृह मन्त्रालले १२ जना सशस्त्र प्रहरीलाई एक साता अगाडि फिर्ता गरेको थियो।

कोइराला परिवारको सम्पत्ती भागबण्डा परेपछि पुरानो निवासमा डा. शेखर विराटनगर आएको बेला बस्ने गरेका छन्। सोही निवासको सुरक्षाको लागि भन्दै महानगरले नगर प्रहरी सिताराम चौधरी, रिता रोक्का र अरुण यादवलाई सुरक्षाका लागि खटाएको छ।

राजनीतिक इतिहास बोकेको निवास भएकोले सुरक्षामा नगर प्रहरी खटाएको महानगरको दावी छ। कोइराला निवासलाई संग्रहालय बनाउनुपर्ने आवाज उठेपनि कोइरालाका सन्तानहरुले भागबण्डा गरेर प्लटिङ गरी बिक्री गरेका थिए। अहिले डा. शेखरको निवासको रुपमा सिमित रहेको स्थानमा नगर प्रहरी परिचालन गर्नुको औचित्य भने महानगरले पुष्टि गर्न सकेको छैन्। किनकी न त्यो घर सार्वजनिक सम्पत्ती हो, न पूर्वविशिष्टको निवास।

स्थानीय सरकार सञ्चालन ऐनले पनि कसैको व्यक्तिगत निवासको सुरक्षा गर्न नगर प्रहरी परिचालन गर्न पाउने व्यवस्था गरेको छैन्। ऐनको दफा ११ को २ (क) २ मा नगर प्रहरी परिचालन हुनसक्ने कार्यहरु तोकिएको छ। नगर प्रहरी नगरको सार्वजनिक सम्पत्तीको संरक्षण, सरसफाई, चौपाया नियन्त्रण, न्यायिक समितिको निर्णय कार्यान्वयन, नगरको नीति र निर्णय कार्यान्वयन, स्थानीय सभा वा समारोह, बजार र भिड नियन्त्रण, सार्वजनिक जग्गा रेखदेख, जथाभावी राखिएका होर्डिङबोर्ड नियन्त्रण जस्ता काममा खटाउनसक्ने व्यवस्था ऐनमा छ।