कोरोनाबाट बच्न ट्रम्पले ह्वाइटहाउसमा शान्तीपाठ गर्न लगाए पछी

विश्व समाचार स्वास्थ्य

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा कोरोना भाइरस महामारीबाट बच्न शान्तीपाठ लगाइएको छ। वैदिक परम्पराअनुसार हिन्दु पुजारीले ह्वाइट हाउसको रोज गार्डेनमा शान्तीपाठ गरिदिएका हुन्।

राष्ट्रिय प्रार्थना दिवसका अवसरमा लगाइएको शान्तीपाठमा कोरोना भाइरसबाट प्रभावितहरुको स्वास्थ्य, सुरक्षा र सहज जीवनयापनका लागि प्रार्थना गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्पले न्यूजर्सीस्थित स्वामीनारायण मन्दिरका पुजारी हरिश ब्रह्मभट्टलाई शान्तीपूजाका लागि ह्वाइटहाउमा निमन्त्रणा गरेका थिए। शान्तीपूजा सम्पन्न भएपछि ट्रम्पले पूजारीलाई धन्यवाद दिँदै अहिले अमेरिका कोरोनाविरुद्ध भयंकर लडाईँमा व्यस्त रहेको बताए।

‘यो ऐतिहासिक संकटका बेला विश्वासको आशिर्वाद, प्रार्थनाको शक्ति र ईश्वरको अनन्त महिमाबाट हाम्रा नागरिकले विश्वासको उपहार पाएका छन्, जुन चाहना हामीले राख्दै आएका थियौं,’ ट्रम्पले भने, ‘म हरेक अमेरिकी नागरिकलाई आफ्नो हृदयदेखि नै आध्यात्मिक एकताका लागि आग्रह गर्छु, ईश्वरसँग साहस र आराम, आशा र उपचार एवं नवीनताका लागि कामना गर्दछु।’ उक्त शान्तीपूजामा अमेरिकी प्रथम महिला (ट्रम्पकी श्रीमती) मेलियाना ट्रम्प पनि उपस्थित थिइन्। सन् १८६३ मा तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले उच्चस्तरमा एकजुट राष्ट्रिय आवाज सुनाउनका लागि अमेरिकीहरुलाई प्रार्थनाका लागि आग्रह गरेका थिए। सन् १९५२ पश्चात हरेक अमेरिकी राष्ट्रपतिले राष्ट्रिय प्रार्थना दिवसका अवसरमा प्राथर्नाका लागि उद्घोष गर्दै आएका छन्।