माता मलाई क्षमा

कला साहित्य मनाेरंजन

रचना: रविन थपलिया, छन्द: शार्दूलविकृडितम्

ए छोरा ! जसरी बसेर नजिकै यो सास जाओस् भनी
कोरोनामय भो सबै लुकिबसे यो देह त्यागौँ अनि

यो आकाश खस्यो धरा चरचरी बत्ती निभेझैँ भयो
पर्देशी मन यो उसै त टुहुरो जल्दै मरौँ झैँ भयो ।

हे आमा कसरी गयौ र नभनी लाग्यौ नि बाटो कुन ?
हाँस्दो हो दुनियाँ भएर रमिते कस्तो कुपुत्रै छु म

खै अन्तेष्टि कहाँ भयो र विधिको खै दागबत्ती कहाँ ?
यो कस्तो सुत हो मर्यो कि छ भनी माता मलाई क्षमा ।

बाटोमुन्तिर आउला कि त भनी आँखा लगायौ अरे
पासो यो परदेश बन्द सब भो मै बन्धनैमा परेँ

के भन्ला दुनियाँ त व्यर्थ नबुझी घोच्दै छ आफ्नै मन
आमा आखिर कर्ममा च्युत भइस् भन्दै नपोलोस् तन ।

हिँड्दै लौ कसरी म जानु घरमा सातै समुन्द्रै तरी ?
उड्दै पो कसरी म पुग्छु गुँडमा पङ्खा छुटेकी चरी ?

ए छोरा, जसरी बसेर नजिकै यो सास जाओस् भनी
कोरोनामय भो सबै लुकिबसे यो देह त्यागौँ अनि ।

(कबि रबिन थपलिया क्यानाडा बसी कलम चलाइनु हुन्छ,प्रस्तुत कविता सत्य घटनामा आधारित भै रचित गरीयको आभास भयो, कसैको निजि जिबनमा मिल्न गएमा त्यो संयोग मात्रै हुने छ  –  सम्पादक )