कोरोना नभएको एसियाली देश, जहाँ चलिरहेछ विवाह समारोह र साइकल र्‍याली

विश्व समाचार स्वास्थ्य

महाव्याधि कोरोना भाइरसको संक्रमण विश्वका २ सय ११ देशमा देखिइसकेको छ। तर, संसारमा केही यस्ता देश छन् जहाँ एउटा पनि संक्रमित देखिएको छैन। एसियामा तुर्कमेनिस्तान यस्तो देश हो जहाँ हालसम्म कोरोना संक्रमण छैन।

यद्यपि विशेषज्ञहरु भने सरकारले सूचना लुकाएको आशंका गर्छन्। यसबाट महामारीविरुद्धका तयारी र प्रयासमाथि बाधा पुग्ने उनीहरुको बुझाई छ।

पुरै विश्व कोरोना महामारीसँग जुधिरहेका बेला र संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्था छ। तर, यस्तो बेला तुर्कमेनिस्तानमा भने मंगलबार विश्व स्वास्थ्य दिवसका अवसरमा साइकल र्‍याली निकालिएको छ। पुरा विश्व कोरोनाको त्रासमा रहेका बेला यहाँ भने निष्फिक्री दिवस मनाइयो।

मध्य एसियाली देश तुर्कमेनिस्तानले हालसम्म एउटा संक्रमित नदेखिएको तथ्यांक दिइरहेको छ। तर, युरोपेली चिकित्सकहरु सेन्सरशिपका लागि चर्चित सरकारका तर्फबाट जारी तथ्यांकमाथि आशंका गरिरहेका छन्।

तुर्कमेनिस्तानको स्वास्थ्य प्रणालीको अध्ययन गर्दै आएका लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर मार्टिन मैक्कीले तुर्कमेनिस्तानबाट आधिकारिक रुपमा जारी गरिएका तथ्यांकमाथि विश्वास गर्न नसकिने बताएका छन्।

यसअघि सन् २००० को दशकमा कैयौ विरामीको बारेमा सूचना लुकाएको तथ्य पेस गर्दै मैक्कीले अहिले पनि विश्वास गर्ने आधार नरहेको उल्लेख गरे। उनका अनुसार तुर्कमेनिस्तानमा धेरै नागरिक कोभिड १९ को त्रासबाट चिन्तित छन्।

तर, तुर्कमेनिस्तानको प्रशासनले भने कोरोना भाइरसको संक्रमण आउन नदिन सम्पूर्ण कदम चालिरहेको र कोही संक्रमित भए उनीहरुको खोजी भइरहेको बताएको छ।

तुर्कमेनिस्तानले संयुक्त राष्ट्रसंघका एजेन्सीहरुसँग मिलेर कोरोनाको सम्भावित जोखिमको सामना गर्न एक्सन प्लानमाथि पनि छलफल गरिरहेको छ।