चीनमा एक महिनायता कोरोना भाइरसको संक्रमणबाट एकजनाको पनि मृत्यु भएको छैन ।
चीनको स्वास्थ्य आयोगले गत अप्रिल १४ पछि कुनै पनि कोरोना भाइरससम्बन्धी मृत्यु घोषणा नगरेको हो ।
त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले आज शुक्रबार चारजना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।
यी सबै जिलिन प्रान्तमा स्थानीय संक्रमण भएका हुन् ।
जिलिनमा पछिल्लो समय स्थानीय संक्रमण बढ्दै गएको देखिएको छ ।
नयाँ पाइएका व्यक्तिहरूसँग समपर्कमा रहेकाहरूको धमाधम परीक्षण चलिरहेको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
हाल चीनमा भाइरसबाट संक्रमित ६३ मानिस मात्रै उपचारको क्रममा छन् ।
चीनमा कुल ८३ हजार नाै सय ३३ संक्रमित भएका थिए । तीमध्ये चार हजार ६ सय ३३ को मृत्यु भएको छ ।
चीनले सामाजिक दूरी एवं सुरक्षाका उपायहरू कडाइका साथ लागू गरेको छ ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीनमा क्रमशः आर्थिक गतिविधिहरू सक्रिय पार्दै लगिएको छ ।
(एजेन्सी)