कोरोना भाइरसविरुद्ध फ्रन्टलाइनमा खटिने ५ महिलाको सूचीमा नेपालकी रुना झा

महिला विश्व समाचार स्वास्थ्य
Kantipur Daily

काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि विश्वभर फ्रन्टलाइनमा खटिने लाखौं छन् । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिनेहरुमध्ये धेरैले ज्यान गुमाएका पनि छन् ।

आफ्नो ज्यानको बाजी थापेर कोरोना नियन्त्रणमा खटिने सामाजिक क्षेत्र तथा स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका ५ जना महिलालाई राष्ट्रसंघीय नियोग यूएन वुमनले सूचीमा राखेको छ । जसमा नेपालकी डा. रुना झा पनि पर्न सफल भएकी छन् । उनी नेपाल जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन् ।

कोरोना परीक्षणमा अहम् भूमिका खेलेको भन्दै यूएन वुमनले छानेको हो । झालगायत ४ प्रभावशाली महिलाले आफ्नो समाजमा कस्तो भूमिका खेलेका छन् ? उनीहरुको कथा यस्तो छ:

कोरोना परीक्षणको नेतृत्वमा रुना

डा. रुना झा प्रमुख प्याथोलोजिस्ट तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन् । यो प्रयोगशाला कोरोना परीक्षणका लागि सबैभन्दा ठूलो र केन्द्रीय प्रयोगशाला हो । उनी र उनको टिमले हरेक दिन ७० हाराहारीमा पीसीआर परीक्षण गर्छन् । रुना भन्छिन्, ‘ढिलो समयसम्म प्रयोगशालामा बस्नु त बानी जस्तै परिसक्यो, प्राविधिक कामसँगै मैले मेरो टिमको लागि यातायात, खाना तथा अरु सामग्रीको पनि व्यवस्था गर्नुपर्छ ।’

झाको टिमले फेब्रुअरीको मध्यतिर चीनको वुहानबाट उद्धार गरी ल्याइएका १ सय ७५ जना नेपाली विद्यार्थीहरुको कोरोना परीक्षण गरेको थियो । ‘मेरो टिमका स्वयंसेवकले कुनै पनि नमुना लिन हिच्किचाएनन्, सबैजना तयार थिए । हामीले रिपोर्ट दिनका लागि रातभर काम गर्‍यौं,’ उनी भन्छिन् ।

महामारीको महिना दिन बितिसक्दा काममा दिनरात खटिएकी झाले आफ्नो टिमको प्राविधिकहरुलाई सहयोग गर्दै मनोबल बढाइरहेकी हुन्छिन् । ‘यो हाम्रा लागि एकदम अप्ठ्यारो समय हो, त्यसैले मैले उनीहरुलाई हौसला दिइराख्नुपर्छ । म उनीहरुसँग कुरा गर्दा कहिलेकाहीँ निराश भएजस्तो देख्छु तर सम्झाउँछु तपाईंहरुको सुरक्षा हाम्रो दायित्व हो,’ झा भन्छिन् ।

झाका लागि यो जागिर चुनौतीपूर्ण छ । उनी हाल एक्लै बसिरहेकी छन् । आफ्नो श्रीमान् र छोरीसँग विछडिएकी छिन् । उनीहरुलाई संक्रमण सर्छ कि भन्ने डरले उनमा सताउँछ । उनले आफ्नो परिवारलाई पनि भेट्न पाएकी छैनन् । उनी पहिले हप्ताको ३ पटक आफ्नो परिवारसँग भेटघाट गर्थिन् ।

उनी भन्छिन्, ‘म आफ्नो छोरीलाई भेटेर अंगालो हाल्न चाहन्छु । आमाबाको ख्याल राख्न चाहन्छु । तर अहिलेको समय त मैले उनीहरुलाई र अरुलाई सुरक्षित राख्नु हो ।’

जोर्डनका अमाल र हाडिल

अमाल एल महारे र हाडिल डबाइबेह यूएन वुमनका फिल्ड अस्सिटटेन्ट हुन् । उनीहरुले विभिन्न महामारीसँग अभ्यस्त भइसकेका छन् । उनीहरुको काम नै त्यस्तो हुन्छ । उनीहरुले जोखिममा रहेका जोर्डनका महिला तथा सिरियाका शरणार्थीहरुलाई दैनिक आपत्कालीन तथा जीवन बचाउ सेवाहरु प्रदान गर्ने गर्छन् ।

५४ वर्षीया अमालको काम फोन गरेर जानकारी दिनु हो । उनी फोनमार्फत् महिलाहरुलाई परामर्श दिन्छिन् । उनले परामर्श तथा मानसिक सहयोगका साथै कोभिडका आधिकारिक सवाधानीका साथै सुविधाहरु प्रदान गर्छिन् । महामारी देखिएसागै दैनिक ८ सय भन्दा बढी महिलाहरु यसरी मोबाइल फोनबाट सेवा पाइरहेका छन् ।

डिजिटल प्रविधि अहिले जोखिममा रहेका महिला तथा शरणार्थीहरुलाई सूचना दिने महत्वपूर्ण माध्यम बनेको छ । लैगिंक हिंसाका समस्याका २४ घण्टे हटलाइन सुविधा पनि दिइएको छ । यूएन वुमनले सिरियन शरणार्थीहरुलाई राहत दिनको लागि नयाा प्रविधि ब्लकचेन क्यास डिबर्समेन्ट सिस्टम पनि ल्याएको छ । सबै शरणार्थीको खाता ब्लकचेनमा जोडिएको हुन्छ र त्यो वर्ल्ड फुड प्रोग्रामले खोलेका सुपरमार्केटमा काम गर्छ । त्यहाा शरणार्थीहरुले सामान किन्नको लागि बिनारोकावट पैसा पाउँछन् ।

चीनकी सेंग्लीन

येन सेंग्लीन चीन उत्तरपश्चिमी किनघाइ प्रान्तको ग्रामीण भेग सियारुयआउको चेकपोइन्टमा काम गर्छिन् । गाउँमा आवतजावत गर्ने मानिसहरुको शरीरको तापक्रम लिन्छिन् र यातायातको रेकर्ड पनि राख्छिन् । उनको ड्युटीले नयाँ कोरोना संक्रमण फैलिन नदिने काम गर्छ । तर उनको लागि यो काम भने नयाँ हो । किनकी उनी कोरोना भाइरसको क्षेत्रमा खटिएकी मेडिकल पुष्टभूमि नभएकी महिला हुन् ।

उनी सुँगुर व्यवसायकी किसान हुन् । उक्त गाउँमा उनी जस्तै अरु महिलाले पुरुषसरह सार्वजनिक मामिला काम गर्छु भन्ने कुरा कहिल्यै सोच्थेनन् तर सन् २०१९ मा विभिन्न सीपमूलक तालिम प्राप्त गरेपछि उनको सोचाइमा बदलाव आयो ।

यूएन वुमनको आवद्ध कार्यक्रमले उनले कसरी सुँगुर व्यवस्थित तारिकाले पाल्ने तथा उनले उत्पादन गर्ने पशुजन्य सामग्री कसरी अनलाइनमा बिक्री गर्ने भनेर सिकिन् त्यसका साथै नेतृत्व तालिम पनि प्राप्त गरिन् । पहिले केही पुरुषले नपत्याए पनि विस्तारै उनै पुरुषहरुले सिकाइ नक्कल गर्न थाले । उनको क्षमतामा अहिले कुनै प्रश्न गरिँदैन । गाउँमा समुदायिक नेतृत्व तहमा महिलालाई स्वीकार्न थालिएको छ । उनी किसान र सामाजिक स्वयंसेवकको दुवै भूमिका निभााइरहेकी छन् ।

काजाकस्तानकी डिना

काजाकस्तानमा रहेको निमोल्ची (चुप नबर्सो) भन्ने एउटा आन्दोलन– अभियान छ यसले सञ्चालन गरेको हटलाइनमा क्वारेन्टाइन अघि शारीरिक हिंसाको फोनहरु बढी आउने गर्थे । अहिले दिनकै १० देखि १५ पटक फोनहरु घरेलु हिंसाबाट गुज्रिरहेका महिलाहरुका आउने गर्छन् ।

‘क्वारेन्टाइनमा बसिरहेका महिलाहरुले हिंसा खेपिरहेका छन्,’ नेमोल्ची आन्दोलनकी नेतृत्वकर्ता तथा चर्चित काजकास्तिानी अभियानकर्ता डिना स्मेलोभा भन्छिन्,‘महिलाहरु आफूमाथि भोगेको हिंसा सजिलै रिपार्ट गर्न तयार हुँदैनन् ।’

पछिल्लो दुई वर्षमा नेमोल्चीले बलात्कारको ४७ घटनामा १ सय २० महिलमलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको छ तर डिनाको लागि कोरोनाले गर्दा झन् चुनौती थपिएको छ । क्वारेन्टाइनका बेला अदालत खुल्दैन, दाबी पनि मानिन्दैन, हिंसा गर्नेहरु साथै हुन्छन् र महिलाहरु उनीहरुसँगै बस्न बाध्य बनिरहेका हुन्छन् ।

चुनौतीको बाबजुद पनि डिनाले न्याय दिने तथा सुरक्षित राख्ने काममा निरन्तरता दिइरहेकी छिन् यो थाहा हुँदाहुँदै की काजकिस्तानमा कोभिडको बेला हुने घरेलु हिंसालाई अपराधिक घटनामा राखिदैन ।

क्यारेबियन समुदायकी भरोसा

राइनसिया हेनरी क्यालिफोर्निया होटलमा डिरेक्टर अफ हाउस किपिङको काम गर्छिन् । कोरोना भाइरसको महामारी फैलिएपछि होटलहरु बन्द भए । एन्टिगुवा र बर्बुडा तापुमा बस्ने उनकी आमाले रुदै भनिन् ,‘घर आऊ, मलाई तिमी सुरक्षित भएको हेर्न चाहन्छु ।’

तर उनले घर फर्किन पाइनन् । सबै अन्तर्राष्ट्रिय उडानहरु कोरोनाले रद्द गरिए र उनी एक्लै अमेरिकामा बस्न बाध्य भइन् । राइनसिया जस्तै लाखौं कामदार होलान् जो अहिले कामविहीन छन् र आफ्नो कर्मचारी, परिवार, साथीहरुमा यो संकटले कस्तो असर पर्ला भन्ने सोचिरहेका छन् ।

अरु प्रवासी कामदारजस्तै उनको कर्तव्य आफ्नो परिवारलाई आर्थिक रुपमा सहयोग गर्नुपर्ने हुन्छ । ‘मलाई आफैं आर्थिक रुपमा गाह्रो भइरहेको छ । मलाई आफ्नो चिन्ता छ र आफ्नो टिमको पनि । केही पैसा सहयोगको लागि आमालाई पठाइरहेको छु तर पछि खर्चको कसरी भार उठाउने भन्ने चिन्तामा छ,’ उनी भन्छिन् । उनी आफ्नो टापुको बारेमा पनि चिन्तित छन् ।

‘साना देशहरुमा थोरै स्रोत छन् । हाम्रो ठाउँको मुख्य पेसा पर्यटन व्यवसाय हो । होटल र एयरपोर्टहरु बन्द भएका कारण मुख्य व्यवसायमा नै रोक आएको छ,’उनी भन्छिन् । उनी सामाजिक दूरी पालना गर्छिन् र घरै बस्छिन् र आशावादी बस्छिन् । परिवारको सम्पर्कमा रहिरहन्छिन् सामाजिक सञ्जालमा सहायतामूलक मेसेज राख्छिन् ।प्रकाशित : वैशाख २०, २०७७ २१:१८