कोरोना महामारीको अबको केन्द्रविन्दु युरोपः विश्व स्वास्थ्य संगठन

स्वास्थ्य

चीनको वुहान शहरबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमख चपेटामा अब युरोप परेको छ । आक्रामक रुपमा संक्रमण फैलन थालेपछि युरोपलाई विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अबको केन्द्रविन्दु भनेको छ ।

‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन् । उनले युरोपेली देशहरुलाई मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरे ।

‘यो भयानक आगो फैलन दिनु हुँदैन’ उनले भने । युरोपियन देशहरुमा कोरोना भाइरसको संक्रमण र मृत्युदर आक्रामक रुपमा बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

इटालीमा मात्रै बितेको २४ घण्टामा २ सय ५० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या १२ सय ६६ पुगेको छ ।

इटाली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ हालसम्म १७ हजार ६ सय ६० जनामा कोरोनाको संक्रमण भएको छ । इटालीमा २ हजार ५ सय ४७ जना नयाँ संक्रमित भेटिएका छन् । इटालीपछि सबैभन्दा धेरै इरानमा ८५ जना, स्पेनमा ४७, फ्रान्समा १८ जनाले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाएका छन् ।

‘कोरोनाका कारण चीनबाहेक विश्वका बाँकी मुलुकहरू भन्दा युरोपमा बढी संक्रमित भएका र मृत्यु भएका घटना छन् । यसले युरोप अब महामारीको केन्द्रबिन्दु भएको बताउँछ’, डा. टेडरोजले भने । गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय २९ देशमा फैलिसकेको छ।

पछिल्लो समय कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको संक्रमण दर उल्लेख्य मात्रामा घटेको छ। यससँगै चीन सरकारले कोरोनाको माहामारीबाट मुक्त भएको घोषणा गरिसकेको छ।

चीन कोरोनाको माहामारीबाट मुक्त भएको सन्देश दिन चिनियाँ राष्ट्रपति सी जिनफिङले मंगलबार कोरोनाबाट अति प्रभावित वुहान क्षेत्रको भ्रमण गरेका थिए। त्यस्तै दक्षिण कोरियामा पनि यसको प्रभाव कम हुन थालेको छ।

चीन र दक्षिण कोरियामा कोरोनाको प्रभाव कम हुँदै गएपनि युरोपेली, अमेरिकी तथा अन्य एसियाली देशहरुमा भने यो तीब्र गतिमा फैलिरहेको छ।