कोरोना र कविता 

कला साहित्य

रुपेश श्रेष्ठ 

आक्रोशित युवक फेसबुक लाइभमा छिमेकी देशलाई धम्क्याइरहेको छ,
बूढो बुद्धिजिवी युट्युबमा राष्ट्रवादको प्रवचन दिँदैछ,
‘बे’रोजगारहरु मेसेन्जरमा लुडो बाजी खेल्दैछन्!!!

वैंशले उन्मत्त युवती टिकटकमा कामुक आँखा सन्काइरहेकी छ,
युरोप गएका छोरीका आमाहरु रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको अनलाइन पसल चलाइरहेका छन्,
बा’हरु नेटफ्लिक्समा हेर्दैछन् पाताल लोक र अरु सिरियलहरु!!!

अधिकार र स्वतन्त्रताका हिमायती नरनारी ट्वीटरमा बहस चर्काउँदैछन्,
ह्यासट्यागमा बोल्दैछन् निमुखाहरुको आवाज,
भर्खरै एक धनाढ्य रइसले इन्टाग्राममा पस्कियो नयाँ परिकारको रेसिपी!!!

नैराश्यको दारी फुलेको नागरिक जुम मिटिङ चलाइरहेको छ र दिँदैछ मोटिभेसनल स्पीच,
भोकको लङमार्च हिँडेर भर्खरै क्वारेन्टिनमा कोचियो बल्लबल्ल स्वदेश फर्किएको जवान,
चाउचाउ बाँड्न हिँडेको छ सांसद!!!

सातो उडेको अनुहार मास्कले छोपेर बिरामीको नाडी छाम्दैछन् डाक्टर र नर्सहरु,
थाप्लोमा हात लगाएर टोलाइबसेको छ नयाँ उद्यमी,
रित्तो सडकमा आँखाले ग्राहकको चित्र बनाइरहेको छ फुटपाथमा चिया पसले!!!

प्रधानमन्त्री देशभक्तिको नयाँ कविता लेख्न बसेका छन्,
उनका कर्मचारी सरकारी टिभीमा जनतालाई सुनाउँदैछन् ‘कोरोना शहिद’ र सम्भावित शहिदको अपडेटेड सूचि,
स्थानीय समाजेवीको सौजन्य पीपीइ ओढेर पत्रकार चुपचाप समाचार लेखिरहेको छ!!!