कोरोना संक्रमण बढ्दै, स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भएन

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं । देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ ।
यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् ।

त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जारी नै राखेका छन् ।

देशका मुख्य सहरमा भिडभाड कम हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि कार्यान्वयन भइरहेको छैन । मुख्यतः सार्वजनिक यातायातमा भौतिक दूरी कायम हुन सकेको छैन भने मास्क र घरबाहिर निस्किँदासमेत सेनिटाइजरको उचित प्रयोग हुन सकेको छैन ।

सरकारले जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयन फितलो देखिएको छ । विभिन्न मेला, जात्रासमेत जारी छन् । विवाह, पार्टी जनस्वास्थ्य मापदण्ड पालनाबिनै आयोजना भइरहेका छन् ।