कोरोना संक्रमित चिनियाँ महिलाले जन्माइन् स्वस्थ बच्चा

विश्व समाचार

चीनको उत्तरी क्षेत्र हेलोङजियाङ प्रान्तमा कोरोना भाइरस संक्रमित एक महिलाले बच्चा जन्माएकी छन् ।

१७ माघ (३१ जनवरी) मा स्वस्थ बच्चालाई जन्म दिएकी ती महिलाको नाम र उमेर भने अस्पतालले सार्वजनिक गरेको छैन । ज्वरो आएपछि हार्विन सहरको ६ नं. अस्पताल पुगेकी ती महिला त्यतिबेला ३८ हप्ताकी गर्भवती थिइन् ।   

परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालका उप प्रमुख ना हुईले बताएका छन् । त्यसपछि डाक्टरहरुले शल्यक्रिया गर्ने निर्णय गरे, उनले ३ किलोग्रामको बच्चा जन्माइन् । तर बच्चामा कोरोना भाइरसको संक्रमण देखिएन । 

‘आइतबारसम्म आमाको शरीरको तापक्रम सामान्य अवस्थामा आएको छ’ डा. नाले भनेका छन् । 

दुवै बच्चा र आमालाई अलग–अलग राखिएको छ, जहाँ विशेष मेडिकल टोलीले उनीहरुको निगरानी र उपचार गरिरहेका छन् ।

-सिन्हवाबाट