कोशीमा भारतको दादागिरी: ५१ वर्षपछि खोलिएका ढोका फेरि बन्द

नेपाल समाचार

५१ बर्ष पछि पहिलोपटक कोशी व्यारेजको सबै ढोका खोलिएको केही घण्टामा फेरी बन्द गरिएको छ । भारत सरकारले सन् १९५४, विक्रम सम्वत् २०११ सालमा महत्वकांक्षी योजना अन्तरगत आफनो भूमि सिंचाइ गर्न र बाढी नियन्त्रणका लागि कोशी ब्यारेज निर्माण गरेको हो ।

कोशी ब्यारेजको निर्माणसंगै नेपाली भूमि सुनसरीको कोशी व्यारेज क्षेत्रबाट ३२ किलोमिटर साविकको महेन्द्रनगरको सुक्रवारेसम्म ४५ वटा स्परमा आफनो नियन्त्रण रहनेगरी पूर्वीतटबन्धको रेखदेख गर्दै आएको छ । हरेक वर्षायाममा कोशीको पूर्वी तटबन्ध क्षेत्रमा बसोवास गर्नेहरु कोशीले बाँध फुटाउने त्रासमा हुने गर्दछन् ।

स्थानीय त्रसित हुनुको कारण कोशी नदी सहजै बग्नु नपाउनु र कोशी ब्यारेज उत्तरमा बालुवा थिग्रिएर बाधको सतहमा नदी पुग्नु मुख्य कारण भएको सप्तकोशी नदीका विज्ञ रविन घिमिरे बताउँछन् । नदी पहिले गहिरो थियो र बस्ती जोखिममा थिएनन् । तर अहिले बस्ती र खेतियोग्य जमिन भन्दामाथि नदी बगिरहेकोले नदीले धार परिवर्तन गर्न सक्छ । त्यसैले कोशी नदीको पूर्वीतटिय क्षेत्रमा कोशी नदीको जोखिम बढेको हो ।

लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढदै गएको छ । गएराती सप्तकोशी नदीको बहाव पाँच वर्ष यताकै उच्च ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको थियो । त्यस पछि सप्तकोशी नदीको बहाव बढेको भन्दै कोशी व्यारेजको सवै ५६ वटै ढोका खोलिएको कोशी व्यारेजका अधिकारीहरुले बताएका छन् ।

आज सप्तकोशी नदीमा गएरातीको तुलनामा पानीको बहाव घटेको छ । सप्तकोशी नदीको बहाव २ लाख ६४ हजार १ सय ६० क्युसेक प्रतिसेकेण्ड पुगेको भन्दै फेरी शनिवार राति ५६ ढोका मध्ये आईतबार विहान २६ वटा ढोका बन्द गरिएको छ ।

कोशी ब्यारेजको चापी भारतको हातमा छ । सप्तकोशीको बारेमा लामो समयदेखि खोज अनुसन्धान गर्दै आएका रविन घिमिरेका अनुसार भारतले गएराती कोशी व्यारेजका पुरै ढोका खोल्नु उसको चलाखी भएको बताउँछन् । कोशी व्यारेजमा थुनिएको पानी सुनसरीको चतरा सम्म झण्डै ६० किलोमिटर उत्तर सम्म जम्ने भएकोले जमेको पानी खोलेर फेरी अर्काे बाढी नियन्त्रण गर्ने योजनाका साथ ५६ वटै ढोका खोलिएको हुनसक्ने घिमिरेको अडकल छ ।

भारत सरकारले नेपालका कुन कुन भागमा पानी परिरहेको छ ? त्यो बाढी कहिले कोशी व्यारेज सम्म आईपुग्छ भन्नेबारेमा जानकार विज्ञहरु परिचालित गरेको र त्यहीँ अनुसार कोशी व्यारेजको ढोका खोल्ने र बन्द गर्ने गरेको घिमिरेको भनाई छ ।

नेपालका नदीहरुमा सीमावर्ती क्षेत्रमा भारतले तटबन्ध निर्माण गरेको छ । नदीहरुले हरेक साल नेपाली भूमिमा समस्या हुन्छ । महाकाली, कोशी र गण्डकीमा सधै समस्या हुने गरेको छ भने कर्णाली जस्तो ठुलो नदीमा त्यस्तो समस्या भएको अहिलेसम्म जानकारी छैन् ।

२०६५ साल भदौमा १ लाख ६७ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव हुँदा नै कोशी पूर्वीतटवन्ध भत्काएर नदी बस्तीबाट बगेको थियो । यसो हुनुको मुख्य कारण नदीको बहाव उच्च भएर हो ।

कोशीमा नेपाल सरकारको कमजोरी 

सन् १९५४ अर्थात विक्रम सम्वत् २०११ सालमा नेपाल सरकारसँग १ सय ९९ बर्षका लागि सप्तकोशी नदीमा कोशी व्यारेज बनाउने र सो क्षेत्रको पूर्वीतटवन्धको ३२ किलोमिटर क्षेत्रमा रहेको ४५ वटा स्पर भारत सरकारले रेखदेख गर्ने गरी सम्झौता भयो ।

पहिले गहिरिएर बग्ने सप्तकोशी नदी कोशी व्यारेज बने पछि बालुवा र ढुंगाले पुरिएर पूर्वीतटबन्ध नजिकका बस्ती भन्दा उच्च भएर कोशी नदी बगिरहेको छ । हरेक वर्षायाममा बाढी आउँदा मापन गर्ने नेपाल सरकारको उपकरणहरु जडान भएपनि काम लाग्ने अवस्थामा छैनन् ।

नेपाल रेडक्रस सोसाईटीको सहयोगमा सप्तकोशी नदीको पानीको बहाव मापन गर्ने यन्त्र सुनसरीको प्रकाशपुर प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र चतराको कोशी पुलमा जडान गरिएको भए पनि प्रभावकारीरुपमा काम गरीरहेका छैनन् ।

चतरामा पानी मापन गर्ने यन्त्रको सूचना दिने मानिस समयमा उपलव्ध हुन सक्दैनन भने प्रकाशपुर प्रहरी चौकीको बाढी मापन यन्त्र बिजुली नहुँदा चल्दैन । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीको यन्त्र भने चट्याङले हानेर बिग्रिएको छ ।

त्यसैले कोशी नदीको पानीको वाहाव र जल सतहको बारेमा जानकारी लिनुपर्दा भारतीय कोशी व्यारेज कन्ट्रोलरुमको सहारा लिनुपर्ने बाध्यता रहेको छ । दुई दुई घण्टामा अपडेट हुने नदीको बहावका लागि नेपाली सुरक्षाकर्मीले पनि भारतकै भर पर्नुपर्ने अवस्था छ ।

सुनसरीको बराहक्षेत्रमा समेत भारतीय अधिकारीहरुले सप्तकोशीको मापन गर्ने गर्दछन् । त्यहाँको सूचना भने भारतीय पक्षले दिदैन । अझ सप्तकोशीमा बनेको कोशी व्यारेजको पूर्वमा भारतले लाने भनिएको नहरमा भने अहिले भारतले पानी लगेको छैन । नहर सुख्खा देखिन्छ । नहरमा पानी छोडे पनि कोशीको बहावको चाप कम हुने देखिन्छ । 

संरक्षित क्षेत्रमा भारतको कार्यालय 

पूर्वीतराईको आरक्ष कोशीटप्पु वन्यजन्तु आरक्षको हाता भित्र कोशीको बाधमा भारतीय कर्मचारी बस्ने हावा महल रहेको छ । सो हावा महलमा भारतीय सरकारी कर्मचारी स्कुटी इन्जिनियरको कमाण्डमा बस्छन् । 
संरक्षित क्षेत्रमा शसस्त्र प्रहरीबलको सुरक्षा घेरामा भारतीय कर्मचारीहरु बस्ने गर्दछन् ।

भारतीयहरु नेपाल सरकारले संरक्षण गरेको संरक्षित क्षेत्रमा बसेर कोशी बाढीको अनुगमन गर्नु कति ठिक कति बेठिक ? यो संगै संरक्षित क्षेत्रमा कोशी व्यारेजबाट बाधैबाध कालोपत्रे गरिएको छ ।

कालोपत्रेमा सर्वसाधरण हिडडुल गर्न पाउँदैनन् भने आरक्षको अनुमति लिएर मात्रै हिडडुल गर्न पाईन्छ । तर भारतीय गाडी भने निस्फीक्रिरुपमा आउजाउ गर्नेगरेको स्थानियवासीहरु बताउछन् । कोशी नदी र कोशी व्यारेज रेखदेख गर्ने कर्मचारी मात्रै हिड्न पाईने सो क्षेत्रमा अरु भारतीय सवारीहरु ओहोरदोहोर गर्ने गरेको जनगुनासो रहेको छ ।