‘कौन बनेका करोडपति’ को अडिसन र पहिलो शृंखला डिजिटल प्लेटफर्ममै हुने

खेल

एजेन्सी । कोरोना महामारीका कारण बढिरहेको लकडाउनले गर्दा चर्चित टीभी शो ‘कौन बनेका करोडपति’ को अडिसन र पहिलो शृंखला डिजिटल प्लेटफर्ममै हुने भएको छ ।

सोनी च्यानले आफ्नो आधिकारिक ट्विटर पेजमार्फत ‘केबीसी १२’ मा सहभागी हुनका लागि दर्ता प्रक्रियाबारे जानकारी दिएको छ । भने पछिल्ला केही वर्षदेखि यस शोसँग प्रस्तोताका रूपमा जोडिएका अमिताभ बच्चनले पनि मे १० मा प्रिमियर भएको १२औं सिजनको प्रमोमा यसबारेमा जानकारी दिइसकेका छन् ।

अडिसनमा भाग लिनका लागि इच्छुकले सोनी लाइभ एप डाउनलोड गर्नुपर्ने हुन्छ । अथवा १२ मेको बेलुकी ९ बजेभित्र एसएमएस पठाएर पनि सहभागी हुन सक्नेछन् । यस्तै सोनी च्यानलका अमित रायसिंहनीले सञ्चारमाध्यमहरूलाई भने, “यो अनलाइमार्फतै छनोट र प्रसारण हुने पहिलो सिजन हो । हामी विश्वस्त छौं कि यो १२औं सिजनले ज्ञानको शक्तिलाई नयाँ परिभाषा दिनेछ ।”

पहिलो चरणको अडिसन प्रतियोगीहरूले पठाएको भिडियोलाई सोनी च्यानलमा लाइभ छनोट गरिनेछ । अन्तिम चरणका लागि छानिएका प्रतियोगीहरूसँग भने भिडियो कलमार्फत छनोट हुने जनाइएको छ ।
अडिसनको पहिलो प्रश्न यसप्रकार छ, “चाइनाको कुन ठाउँमा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो ?”

प्रोमोजस्तै यस सिजनको सबै एपिसोड अमिताभ आफ्नो घरभित्रै बसेर शो सञ्चालन गर्दैै छन् । (हिन्दुस्तान टाइम्स)