क्यानाडामा राम्रो तलवको प्रलोभन दिएर किड्नीको ब्यापार

क्यानडा विशेष नेपाल समाचार

क्यानाडामा राम्रो तलवसहितको रोजगारी, निःशुल्क इटीए, राम्रो बन्दोबस्तीको सुविधा र पीआरको प्रलोभनमा पारेर भारतको नयाँदिल्ली पुऱ्याई रकम ठगी गर्नुका साथै पीडितलाई बेहोस तुल्याएर किड्नी झिक्ने आपराधिक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

योगेश सापकोटालगायतका अभियुक्तहरू प्रहरीको फन्दामा परेका हुन् । उनीहरूले पीडित ४० वर्षीय ‘सिंहदरबार’ (नाम परिवर्तन)लाई फकाएर विश्वासमा पारी गत फेब्रुअरी ५ मा भारतको नयाँदिल्ली पुऱ्याएका थिए । प्रहरीका अनुसार नयाँदिल्लीमा लगी होटलमा राखेपछि थप भारतीय अभियुक्तहरू समेत संलग्न भई पीडितलाई उनीहरूले क्यानाडा जानको लागि २२ हजार अमेरिकी डलर नगदै प्रस्तुत गर्नुपर्ने शर्त तेर्स्याए ।

नगद पेश गरेपछि मात्र Electronic Travel Authorization (eTA) ल्याउन सकिन्छ तुरुन्त रकम झिकाउनु भनी पीडितलाई फकाई दबाबसमेत दिएकोमा पीडितका बुबा र मामाले नगदै अमेरिकी डलर २२ हजार ५९ समेत लिई १२ फब्रुअरी २०१९ का दिन भारतको नयाँदिल्ली पुगेपछि पीडितलाई क्यानाडा जानको लागि भनि इन्दिरा गान्धी एअरपोर्ट अनि बाबु र मामालाई गुडगाउँस्थित होटलमा लगी अभियुक्तहरूले बेहोस पारेका थिए ।

प्रहरीका अनुसार त्यसपछि किड्नी झिक्ने प्रयास गरेको र क्यानाडाको लागि भनि एअरपोर्ट लगिएका पीडित एअरपोर्टमै अलपत्र पारेपछि बाबु र मामा खोज्दै गुडगाउँस्थित होटल पुगे । पीडितले बाबु र मामालाई बेहोस अवस्थामा फेलापारेपछि हस्पिटल लगी उपचार गराई ठिक भएपछि पीडितहरूले आफ्नो साथमा बोकेको सम्पूर्ण नगद अभियुक्तहरूले लुटेको जानकारी पाएका थिए । यसरी नाजुक अवस्थामा पीडितहरू नेपाल फिर्ता आएका थिए ।

यसरी नेपालबाट भारत लगी नाजुक अवस्थामा पारी बेहोस बनाएर पीडितहरूको रकम लुटपाट गर्ने, पीडितहरूको किड्नी निकाल्ने योजना बनाई सोको लागि ओसारपसार गर्ने कसुरमा संलग्न रहेका अभियुक्तहरूको खोजतलास गर्दै जाँदा यही जेठ २९ गते काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित तरकारी बजारबाट अभियुक्तलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलेले जनाएको छ । पक्राउ परेकामा नुवाकोटका २६ वर्षीय योगेश सापकोटा छन् ।