“गाउँ घरको खबर, काका दर्शन”

कला साहित्य मनाेरंजन विविध

शेयर गर्नु होस ।

कबिताः रेखा किरण पाैडेल

गाउँ घरको खबर
काका दर्शन,
भाई बहिनि काकी आरामै हुनुहुन्छ ?
अहिले पनि घना जङ्गलमा बडरका हाँगाहरू चाउरिएका औलाहरुले छुनुहुन्छ ?
पहिले जस्तै घार्मी खोलामा छाप्लांग छुप्लुंग हिलाम्मे फुटेका कुर्कुचा धुनुहुन्छ ?
ॐ कारेस्वोर मन्दिरमा दुध अर्पण गर्न गाई गोठ पानीले छपछप पखाली दुहुनुहुन्छ?
काका हजुर उस्तै हुनुहुन्छ कि बदलिनु भयो ?

काका आँखीझाल बाट माछापुछ्रे मुस्कुराएको भेटीन्छर ?
बाटीलचौरमा गन्धर्ब दाईका सारङ्गि घार्मीसम्म सुन्ने गरि रेटीन्छर ?
कान्छाबाको शंखको धुन , ॐ स्तुति , चराको मिठो स्वोरसंग उस्तै फेटीन्छर ?
काका गाउँ उस्तै छ कि बदलियो ?

श्रावण संक्रान्तिमा फुरौला बनाउन के जीण जाताहरुले मासको दाना दल्छ ?
गाई चराउने राम्चे चौरमा दशैँको पिङ्ग चचहुइ चचहुइ गर्दै चल्छ ?
शिवरात्रिमा ब्रतालु भाउजु बुहारी ,उखुको स्वादमा लट्ठ भाई बहिनि , भांग धतुरोमा रमाउने दाजुभाईलाइ उर्जा थप्न धुरी उस्तै बल्छ ?
काका गाउँ चाडपर्व उस्तै छ कि बदलियो ?

कुल पुजा त हुन्छ ?
गाउँलेलाई भुमि पुजाको चटारोले पनि छुन्छ ?
मंसिरमा नैचामल बाडी खाने चलनलेले के अझैपनि गाढा सम्बंधह बुन्छ ?
काका रिति रिवाजहरु उस्तै छन कि बदलिय?

राम्चेमा बनेको भिउ टावोरबाट पोखराको झिलिमिली हेर्न पर्यटक आउछन ?
जापानीको सहयोगमा बाबाले बनाएको पाठासालामा के सबै नानीहरु पढ्न पाउछन?
घार्मीलाइ नानो पारि सुर्येको थोरै किरण के महेन्द्र गुफा र चमेरी गुफा भित्र छाउछ्न?
काका गाउँको दिनचर्या उस्तै छ कि बदलियो ?

जन्ममा सुत्केरो र मृत्युमा जुठो पहिले जस्तै गाउँभरलाई पर्छ ?
बिदाइमा जुटेका मनहरुको वियोगको आँसु के उस्तै झर्छ ?
अकलादेबिमुनिको घाटमा जादै गर्दा मलामी हातहरुले जौ तिल के उस्तै छर्छ ?
काका मृत शरीर बिसार्म दिने घाट उस्तै छ कि बदलियो ?