‘गुठीलाई रणबहादुर शाहकालमा पुर्‍याउन विधेयक ल्याइयो’

नेपाल समाचार

शेयर गर्नु होस ।

प्रा.डा. केदारभक्त माथेमा

गुठीको शुरुवात लिच्छवीकालदेखि भएको हो । चावहिल बौद्धस्तुपाको छेउमा रहेको शिलालेख अनुसार गुठीको शुरुवात वि.स. ५१७ मा भएको हो । त्यतिबेला मानदेवले तिलगंगा नजिक मन्दिर पनि बनाएका रहेछन् ।

पहिला हरेक नेवारहरू एउटा न एउटा गुठीको सदस्य हुन्थे । अन्य काम छाडेर पनि गुठीको कार्यक्रममा सहभागी हुनैपथ्र्यो । गुठी धेरै प्रकारका हुन्छन् । कुनैलाई दिवाली गुठी भनिन्छ । कसैको मर्दापर्दा मात्रै सहभागी हुने गुठी हुन्छ । परेवालाई खुवाउने गुठी, बाँदरलाई खुवाउने, माछालाई खुवाउने गुठी पनि हुन्छ ।

हामीले जति पनि मन्दिरहरू देख्छौं, त्यो सबै हाम्रा पूर्खाहरूको कृपाले गर्दा भएको हो । हामीले गरेर होइन । उहाँहरूले संरक्षण गरेर राख्नुभएको सम्पत्ति हो । गुठी सञ्चालन गरेर बचाइदिएकाले हामीले त्यो देख्न पाएका छौं ।

गुठीका विषयमा कतिपयमा गलत धारणा छ । गुठी भन्नासाथ जग्गासँग सम्बन्धित भनेर सोच्नु गलत हो । जग्गाबाट आएको आयस्ताबाट गुठी सञ्चालन हुन्छ । तर, गुठी भनेकै जग्गा चाहिँ होइन ।

गुठीलाई पुरानो कुरा हो, रुढीवाद हो पनि भन्छन् । अहिलेको जीवनमा काम लाग्ने कुरा होइन भन्नेहरू पनि छन् । हिन्दु धर्मसँग मात्रै जोडिएको विषय हो भन्ने पनि गर्छन् । नेवार जातिको मात्रै हो भन्ने गर्छन् । यो सबै सही होइन ।

जस्तो– काठमाडौंमा नेवारको गुठी होला । तर, जनकपुर, प्युठान, दाङमा पनि गुठी छ भन्ने बिर्सन मिल्दैन ।

पशुपतिको गुठीको सिन्धुपाल्चोकमा जग्गा छ ।

प्रस्तावित विधेयकले जग्गा कमाइराख्नेलाई जिम्मा दिन खोजेको हो कि ? कमाई गर्नेहरूलाई नदिने भन्ने होइन । तर, उहाँहरूका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्छ ।
गुठीको धेरै जग्गा हराइसकेको छ । कति जग्गा सट्टापट्टा पनि भएको छ । नुवाकोटको बाँदर लड्ने जग्गा र ठमेलको जग्गा साट्ने खोजिएको थियो । न्यायाधीशहरू रामप्रसाद श्रेष्ठ, बलराम केसीले गुठी जग्गा साटासाट गर्न पाइँदैन भन्ने निर्णय गरेर जग्गा बच्यो ।

आधुनिक समयमा पनि यसको धेरै महत्व छ । विश्वविद्यालय कलेज, स्कुल पनि गुठी अर्थात् ट्रष्टिजले चलाउनुपर्छ । विदेशमा पनि शैक्षिक संस्थाहरू बोर्ड अफ ट्रष्टिजले चलाउने गर्छन् ।

त्रिचन्द्र कलेज ५० वर्ष अगाडि म पढाउन जाँदा जस्तो थियो अहिले पनि त्यस्तै छ । एक दिन आफैंले पढाएको कक्षामा पुगेको थिएँ । ५० वर्षको अवधिमा त्यहाँ एक थोपा पेन्ट पनि लगाइएको रहेनछ ।

त्रिचन्द्र कलेज कसको हो त ? यस्तै, पद्म कन्या वा पाटन कलेज वा त्रिभुवन विश्वविद्यालय कसको हो ? कसैको पनि होइनजस्तो भइरहेको छ । हो, कसैले पनि मेरो हो भनेर अपनत्व नलिँदा नै ती हाम्रा शैक्षिक संस्थाहरू यस्तो अवस्थामा पुगेका हुन् । ०२८ सालमा सरकारले स्वामित्व त लियो, तर अपनत्व भएन ।

अपनत्व लिनका लागि पनि गुठीकै हिसाबले ‘बोर्ड अफ ट्रस्टिज’ बनाउन जरुरी छ । उदाहरणका लागि सिराहाको पुरानो विद्यालयलाई सिंहदरबारसँग के मतलब ?
त्यसकारण गुठी भनेको सरकारले लिने होइन । सरकारले त आवश्यक प्रवद्र्धन, प्रोत्साहन गर्ने हो । जसको गुठी हो उसैलाई दिनुपर्दछ । विहारीकृष्ण श्रेष्ठले सामुदायिक वनको उदाहरण दिनु भएको छ । सरकारले प्रत्यक्ष रुपमा हेर्दा र समुदायले लिएपछि कस्तो भयो भन्ने सबैले देखेकै छ ।

सामुदायिक विद्यालयको अवधारणा सफल नहुनुको कारण पनि त्यही हो । किनभने त्यहाँ अपनत्व भएन ।

रणबहादुर शाहले पहिलोपटक गुठीमाथि प्रहार गरेका थिए । उनले आफ्नी कान्छी श्रीमती कान्तिमतिको मृत्युपछि गुठीमाथि प्रहार गरेका थिए ।

रणबहादुरले गरेको गल्ती सुरेन्द्रप्रताप शाहले सुधार्ने प्रयास गरे । यो विधेयक पास भयो भने फेरि गुठीमाथि प्रहार हुन्छ ।

संस्कृति, धर्मसँग जोडिएको विषयमा पनि सरोकारवालासँग सल्लाह लिइएको छैन । गुठी, गुठीयार, मठमन्दिरसँग सम्बन्धित कसैसँग पनि छलफल गरिएको छैन । सरोकारवालासँग प्रशस्त छलफल नगरी गुठीसम्बन्धी विधेयक अगाडि बढाउनु हुँदैन ।

(नेपालमा गुठीको महत्व र उपादेयता शीर्षकमा मार्टिन चौतारीले राजधानीमा आयोजना गरेको कार्यक्रममा व्यक्त मन्तव्यको सम्पादित अंश)