गृहका सह–’सचिवको गाडी लक गर्ने ट्राफिक सम्मानित’

नेपाल समाचार

काठमाडौं गृह मन्त्रालयका सह-सचिव रामकृष्ण सुवेदीको गाडीमाथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ ।

अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा ट्राफिक प्रहरी जवान टिकाराम बुढाले कारबाही गरेका हुन् । उनले गृहका प्रवक्ता समेत रहेका सुवेदीको गाडी लक गर्नुका साथै एक हजारको चिट काटेका थिए ।

गृहकै सह सचिवको गाडीलाई कारबाही गरेपछि ट्राफिक प्रहरी जवान बुढालाई सडकमै युवाहरुले सम्मान गरेका हुन् । पद र शक्तिको भेद नगरी गल्ती गर्ने सबैलाई समान हिसावले कारबाही गरेको भन्दै उनलाई युवाहरुले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

गृहका सहसचिव सुवेदी पार्किङ गर्न निषेध गरिएको स्थानमा गाडी रोकेर खाना खान गएका थिए । सोही समय प्रहरीले उनको गाडीमा लक लगाएको थियो ।

ह्वील लक गरेपछि चर्को दबाबमा केही समयमै अनलक गरेका थिए । तर उनले एक हजार रुपैयाँको चिट भने काटेका थिए ।

ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न भनेका थिए । तर उनले गाडी लक गर्नुका साथै एक हजारको चिटसमेत काटेका थिए ।