गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानडाको अन्तरकृया सहित हेल्प डेस्क स्थापना ।

NRNA क्यानडा विशेष

राजु थापा, एमखवर डटकम

डिसेम्बर ०८, २०१९ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेपालमा सम्पन्न बिश्व सम्मेलन पछि एनआरएनए क्यानडाले समूदाय बिच पहिलो अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । केहि दिन अघि नियूक्त गरिएका सल्लाहकारहरु र क्यानडामा आउने नयाँ नेपालीहरुको सहजताका लागि संचालन गरिन लागेको नयाँ हेल्प डेस्क कमिटिको बारेमा जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको बुझिएको छ ।

निशुल्क फोन सुविधामा ३१ कमिटि सहित एनआरएनए क्यानडाको हेल्प डेस्क स्थापना भएको छ । हरेक क्षेत्रका उपाध्यक्षको मातहतमा रहने गरि क्यानडाको मध्य, पूर्वी र पश्चिमी क्षेत्र बनाएर हेल्प डेस्क स्थापना गरिएको हो । ब्रिटिश कोलोम्बिया, मोनिटोवा, सस्क्याच्युन, रेजिना लगायतका पश्चिमी क्षेत्रमा उपाध्यक्ष अर्जुन रसाइलीको संयोजकत्वमा यसअघि नै अल्बर्टामा हेल्प डेस्क स्थापना भइसकेको छ भने मध्य क्षेत्रका लागि मिसिसागा, ब्राम्टोन , किचनर, वाटरलु, नायग्रा, बर्लिंगटन, मिल्टन, लण्डन लगायतका शहरहरुलाई समेटेर उपाध्यक्ष विजय पौडेलको मातहतमा मिसिसागा ब्राम्टनमा हेल्प डेस्क राखिएको छ ।

यस क्षेत्रमा नेपाली समुदाय बाक्लो भएकाले पनि हेल्प डेस्क प्रभावकारी बन्न सक्छ । यस्तै टोरोन्टो, स्कारबोरो, मार्खम, अजाक्स, असोवा, अटोवा लगायतका पूर्वी क्षेत्रलाई समेटेर स्कारबोरोमा उपाध्यक्ष हेमन्त थापा (उज्वल) को संयोजकत्वमा रहने डेस्क स्थापनाका लागि आवश्यक तयारि पूरा भइसकेको उपाध्यक्ष थापाले जानकारि दिए । हेल्प डेस्कमा लामो समयदेखि विभिन्न क्षेत्रमा काम गर्दै आएका सय भन्दा बढि व्यक्तित्वहरु आवद्ध छन् । विशेष गरि पढाइ, काम लगायत विविध विषयहरुका बारेमा जानकारि आदान प्रदान गर्न सजिलो हुने एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरेले बताए । यसका लागि कार्यालयको टोल फ्रि नम्बरM 1-800-627-9026 रहेको छ । जुनसुकै ठाउंबाट फोन सुविधा प्रयोग गर्दा कुनै शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले जानकारि दिए ।

यसैविच एनआरएनए क्यानडाले संस्थाको सल्लाहकारमा विभिन्न व्यक्तिहरुलाई चयन गरेको छ । यसरि नियुक्त हुनुहुने सल्लाहकारहरुमाM कुन्जर शर्मा, अभिमन्यू बस्नेत, राधा बस्नेत, ज्योती बैद्य, मुगा राजभण्डारी, कानूनी सल्लाहकारमा अतुल सुवेदी र स्वास्थ्य क्षेत्रमा डा= विशाल ज्ञवाली रहनु भएको छ । यसैगरि अभि शर्मा, नारायण घिमिरे, कृष्ण आचार्य, नारायण रेग्मी, बासु शर्मा, लक्ष्मी पाठक, डि=आर= खनाल, कृष्ण तिम्सिना, देवी अधिकारी, नरेशजंग पाण्डे, चन्द्र राइ, बालचन्द्र श्रेष्ठलाई पनि संस्थाको सल्लाहकारका रुपमा नियुक्त गरिएको महासचिव भट्टराईले जानकारि दिए ।

हिजो शनिवार भएको उक्त कार्यक्रम नियमित औपचारीकतानै पुरा नगरि शुरु भएको थियो  । बिशेषगरि कार्यक्रमहरु शुरु गर्दा नेपाल तथा क्यानडाको राष्ट्यि गान सहित उद्घाटन गरि बिशेष अतिथिहरुलाई परिचय सहित ड्यासमा आमन्त्रित गर्ने गरिन्छ । महासचिव पिताम्वर भट्टराईले संचालन गरेको कार्यक्रममा समयको पावन्दिले अध्यक्षको आज्ञा भन्दै सिधै उपस्थितहरुमा आआफ्ना धारणा राख्न अनुरोध गरेका थिए ।

उपस्थितहरुले बिशेष गरि हेल्प डेस्ककै बारेमा केन्द्रित रहेर आआफ्ना धारणा राखेका थिए भने केहिले शुरुमै हेल्प डेस्कमा ३१ वटा कमिटि बनाउदां नेपालको जम्बो मन्त्रिमन्डल जस्तो काम भन्दा कुरो मात्रै हुने होकि भनि सुझाएका थिए । कार्यक्रमका बारेमा धेरै दिन देखि गरिएको प्रचार प्रशार अनुरुप नभएको र संथाको गरिमालाई अगाडि बढाउन बर्तमान अध्यक्ष देखि निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष र भूतपूर्व अध्यक्षहरुलाई अगाडि ड्यासमा राखेर कार्यक्रम गराएको भए  अभिभावकत्व सहित कार्यक्रमको महत्व हुने थियो कि भनि केहि उपस्थितहरुले एमखवर डटकम समक्ष प्रतिकृया दिएका थिए । 

“एक पटकको नेपाली सधै को नेपाली” भन्ने नाराका साथ करिव ८० भन्दा बढि देशमा स्थापना भएको गैरआवासीय नेपाली संघको स्थापना भएको थियो । यसले सार्क राष्ट्हरु बाहेकका देशमा बिभिन्न पेशा र ब्यवसाय गरि बस्ने करिब ८० लाख भन्दा बढि नेपालीहरुको प्रतिनिधित्व गर्दछ ।

एभरेष्ट तेक्वान्दो एकेडेमि ब्रामटनको हलमा भएको कार्यक्रममा जिटिए भित्र बसोवास गर्ने बिभिन्न पेशा र तप्काका नेपालीहरुको राम्रो उपस्थिति थियो । यसै क्रममा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले आफ्नो फेसवुक मार्फत समेत हार्दिक धन्यवाद दिएका छन् ।