गोप्य बैठकमा किन कड्किए देउवा

नेपाल समाचार

‘मलाई प्रेसर मात्र दिएर हुन्छ? उनीहरुले पनि काम गर्नु पर्दैन?’ आफ्नै निवास बुढानीलकण्ठमा आयोजित आफूनिकट नेताहरुको गोप्य बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रका अरु खेमाका नेताहरुको आलोचना गरे।

शनिबार बिहान जम्मा भएका आफू पक्षीय नेताहरुलाई सभापति देउवाले आगामी महाधिवेशनपछि पनि आफूले नै पार्टीको नेतृत्व गर्ने सन्देश स्पष्ट पारे।

‘तिमीहरूका लागि म छँदैछु, मेरा लागि पनि सहयोग गर्नुपर्छ,’ देउवाले भने, ‘रामचन्द्रजी र कोइरालाजीहरूले मात्र भने जस्तो हुँदैन।’

कांग्रेसभित्र पार्टीको १४ औं महाधिवेशन समयमै सम्पन्न गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धार भनिएको कृष्णप्रसाद सिटौला समूहले ‘लबिङ’ गरिरहेका बेला देउवाले आफ्नो कार्यकाल एक वर्ष थप्ने योजना समेत सो बैठकमा सुनाएका थिए।

‘वातावरण त मिलाउनु पर्यो नि,’ गोप्य बैठकमा सहभागी एक सदस्यले सभापति देउवालाई उद्धृत गर्दै भने, ‘महाधिवेशन एक वर्षपछि गर्दा हामीले अनुकुल वातावरण बनाउन सक्छौं।’

सो गोप्य बैठकमा ७७ सालको फागुन सम्ममा महाधिवेशन गर्ने एक प्रकारको सहमति भएको सहभागीहरुले बताएका छन्।

बैठकमा समसामयीक राजनीतिका विषयमा पनि सामान्य चर्चा भएको थियो।

‘केपी ओली सरकारले जनअपेक्षा अनुसारको काम नगरेकाले कांग्रेस कतिपय मुद्दामा खरो उत्रनुपर्ने राय सहभागीहरुको थियो,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘तर त्यो कुनै औपचारिक बैठक नभएकाले त्यसमा पार्टीभित्रकै कुराहरु बढी भए।’